search logo
NOTIFICATIONS

नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सबै विद्यार्थी सफल, भरतनाट्यमको नयाँ सत्र सुरु हुँदै

हाम्रो पेज

१७ जेष्ठ २०८३, आईतवार १६:२३

विराटनगर, १७ जेठ । विराटनगरको शनिहाटस्थित नृत्य प्रशिक्षण संस्था नृत्योपासनाले भरतनाट्यम शास्त्रीय नृत्यतर्फको वार्षिक मूल्याङ्कन सम्पन्न गर्दै नयाँ शैक्षिक सत्रको तयारी थालेको छ।

संस्थाले प्राथमिक तहदेखि पाँचौं वर्षसम्म अध्ययनरत ६ वटा ब्याचका विद्यार्थीहरूको वार्षिक मूल्याङ्कन सम्पन्न गरेको हो। मूल्याङ्कनमा सहभागी सबै विद्यार्थी सफल भई आगामी तहमा स्तरोन्नति भएका छन्। सफल विद्यार्थीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको संस्थाले जनाएको छ।

नृत्योपासनाकी सञ्चालक तथा प्रशिक्षक सन्तोष निधि राठीका अनुसार मूल्याङ्कनले विद्यार्थीहरूको सिकाइ प्रगति मापन गर्नुका साथै उनीहरूलाई थप उत्साहका साथ अगाडि बढ्न प्रेरित गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शास्त्रीय प्रस्तुति समेत दिएका थिए। कार्यक्रममा अभिभावकहरूको पनि सहभागिता रहेको थियो।

भारतको चेन्नईबाट भरतनाट्यममा स्नातकोत्तर अध्ययन पूरा गरेकी राठीको नेतृत्वमा नृत्योपासनामा शास्त्रीय संगीतका विभिन्न राग तथा तालमा आधारित नृत्य प्रशिक्षण सञ्चालन हुँदै आएको छ।

यसैबीच, संस्थाले आगामी जुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुने जानकारी दिँदै भरतनाट्यम शास्त्रीय नृत्य सिक्न इच्छुकका लागि नयाँ भर्ना खुला गरिएको जनाएको छ।