हाम्रो पेज
विराटनगर, १३ जेष्ठ । संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले कोशी प्रदेश सभामा विरोध जनाएका छन् । बुधवार बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पुरा नगरी नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन् । विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजे पनि प्रतिपक्षी सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरेका थिए । सो क्रममा नेकपाका सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक खोस्ने प्रयास गरेपछि मर्यादा पालकले रोकेका थिए । प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राई माइक फाल्न रोस्ट्रमै पुगेका थिए। कुदेर रोस्ट्रमा पुगेका उनलाई मर्यादा पालकहरुले तल झारेका थिए। त्यसपछि उनलाई सभामुखले मर्यादामा बस्न आग्रह गरे । त्यसपछि प्रतिपक्षी सांसदहरुले विरोधलाई निरन्तरता दिएका थिए। मंगलबार विरोधकाबीच सभामुख विष्टले संशोधनको समय नदिएको नभई संशोधन नआएपछि प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको बताउनु भएको थियो । उहाँले नीति तथा कार्यक्रम पारित गर्दा सर्वसम्मत नभई प्रतिपक्षीका असहमति रहेको विषयलाई उल्लेख गरिएको जानकारी दिनुभयो । बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गरे । कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सोमबार पारित भएको थियो । कोशी प्रदेश सरकारले ल्याएको नति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव समेत हाल्न नदिई नीति तथा कार्यक्रम प्रदेशसभाबाट पास भएको भन्दै प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले विरोध गरेका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव हाल्न नदिएको भन्दै प्रदेश सभामा रहेका नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्यहरूले सभामा विरोध गरेका हुन् ।
कोशी प्रदेश सरकारले जेठको ६ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा त्यस प्रदेश सभामा निरन्तर छलफल भएको थियो । छलफलपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ १२ गते नति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नहरूका जवाफ दिनु भएको थियो । मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले हिजोको बैठकमा निर्माणार्थ प्रस्तुत गर्नुभएको थियो । सभामुखले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम निर्माणार्थ प्रस्तुत भएपछि ध्वनि मतले कार्यक्रम पास भएको थियो । सभामा ‘हुन्छ’ भन्ने स्वर मात्रै सुनिएपछि सभामुख विष्टले नीति तथा कार्यक्रम पारित भएको बताउनुभयो । सभामुखले पारित भएको घोषणा गरेसँगै तर, कार्यक्रम पारित भएको घोषणा हुनासाथ विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र अर्का नेता राजेन्द्र राईले विरोध जनाउनुभयो । उहाँहरूको मुख्य गुनासो थियो– ‘नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय उपलब्ध गराइयोस् । समय नदिई पारित गरियो । यो संसदीय मर्यादाको खिलाफमा छ । संशोधनको लागि समय उपलब्ध गराइयोस् र विधि पु¥याइयोस् ।’ प्रतिपक्षी दलका नेता इन्द्र आङ्वोसहित उठेर समय माग गरेपछि केही बेर विवाद समेत भएको थियो । सभामुख विष्टले नीति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव पेस नभएकाले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेको जवाफ दिनुभयो ।विवाद भएपछि सभामुखले हिजोको सभा स्थगित गर्नुभएको थियो । विवादका बिच स्थगित भएको सभामा आज ११ बजेको लागि बोलाइएको थियो । आज पनि सभा सुरु हुन साथ प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले विराध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ ।