तीन लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन

हाम्रो पेज

३ जेष्ठ २०८३, आईतवार १३:४४

म्यानपावरमा लुटः१० हजार रुपियाँ लाग्नेमा ३ लाख १० हजार रुपियाँ मागेपछि

काठमाडौं, जेठ ३ गते । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको फ्रि भिसा फ्रि टिकेटको नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपियाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रूपियाँ तिरिसकेका थिए । तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले ,३ लाख रूपियाँभन्दा एक रूपियाँ पनि कम लिन्नु भनेपछि उनी मलेसिया उड्न पाएनन् । उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । तर, ३ लाख रूपियाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन । म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रूपियाँ तिरे जेठ ३ गते उडाइदिने बतायो । त्यसपछि उनले पैसाको जोहो गरे । नाइट गाडी चढेर शनिबार बिहान काठमाडौं ओर्लिए । कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे । पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए । त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए । अजय रामजीकै निर्वाचन क्षेत्रका मतदाता हुन् । अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैं खटिए । केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगे । त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो । म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरूमा अजयसँग पैसा मागे । अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भयो । त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो । फ्रि भिसा फ्रि टिकेट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याइयो । ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य महत्त्वपूर्ण कागजात रहेको पाइयो । उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ । वैदेशिक रोजगारीको नाममा सोझा कामदारहरूलाई ठगी गर्ने र फ्री भिसा फ्री टिकटको नियम उल्लंघन गर्दै लाखौं रकम असुल्ने म्यानपावरका एजेन्ट पक्राउको घटनाले कसरी सोझा नागरिक ठगिइरहेका छन् भन्ने प्रमाणित गरेको छ । श्रम मन्त्री यादवका स्वकीय सचिव सरोजले भन्नुभयो, तीनकुनेस्थित गैरीगाउँमा आज एक सोझो नेपाली ठगिनबाट रोकेका छौं । यो विशेष योजनामा साथ दिनु हुने प्रहरी अधिकारीहरूलाई हार्दिक धन्यवाद । यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए । उहाँले सो म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए । मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपियाँ मात्र भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपियाँ माग गरेको हो । म्यानपावरले सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपियाँमा कुरा मिलाएको थियो । पीडित यादवले टिकट र अन्य प्रक्रियाका लागि भन्दै यसअघि नै ७० हजार रुपियाँ नगद बुझाए पनि बाँकी पैसा नबुझाएसम्म उहाँको राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले बन्धक बनाएको थियो । पक्राउ परेका एजेन्टले सुरुमा आफूले पैसा लिएर मात्र कागजात दिन लागेको दाबी गरे तापनि प्रहरीले फ्री भिसा फ्री टिकट भएको देशमा किन ३ लाख रुपियाँ मागेको  भन्दै प्रश्न गरेपछि उनी चुप बनेका थिए । प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरिएपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ । यादवले खुसी व्यक्त गर्दै भन्नुभयो,सुरुमा म्यानपावरले पैसा लाग्दैन, अन्तर्वार्ता पास भएपछि सबै मिलाउँला भन्यो । तर जब भिसा आयो, तब ३ लाख नदिए जान पाउँदैनौ भन्दै धम्क्याउन थाल्यो । गरिब मान्छेले ऋण काढेर पैसा ल्याउनुपर्ने, त्यसमाथि यस्तो लुटधन्दा गर्नेलाई कडा कारबाही हुनुपर्छ । श्रममन्त्री यादवको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै पनि समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न अपिल समेत गरेको छ । पक्राउ परेका एजेन्टमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।