हाम्रो पेज
काठमाडौँ, वैशाख २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसको विषयमा उठेका प्रश्नको जवाफ दिनु भएको छ । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्दा परम्परा र विधि मिचेरको भन्ने तर्कको उहाँले खण्डन गर्नभयो । रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आइतबार लामिछानेले प्रधानन्यायाधीश सिफारिस असंवैधानिक नभएको बताउनुभयो। ‘संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ। म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो ? ,’ उहाँको प्रश्न छ। सर्वोच्चका ६ जना न्यायाधीश सर्टलिस्ट भएकामा तीमध्ये एक जनालाई चुन्नुपर्ने प्रावधान रहेको र संवैधानिक परिषदले त्यसै अनुसार एक जना चुनेको उहाँको भनाइ छ। ‘यदि वरिष्ठ न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने हो भने संवैधानिक परिषदको खाँचो नै किन पर्यो र ? सिधै वरिष्ठताका आधारमा नियुक्त गरे भइहाल्यो,’ उहाँ भन्नुभयो । ६ जनाको नाम सिफारिस रास्वपाको उपस्थितिमा नभएको र पहिलेदेखि सर्टलिस्ट भएर बसेका नामबाट क्षमता र योग्यताका आधारमा एक जना चुन्ने काम मात्र संवैधानिक परिषदले गरेको लामिछानेले बताउनुभयो । ‘हाम्रो अगाडि सर्टलिस्टमा रहेका ६ जनाको नाम आइपुग्यो। त्यसमध्ये एउटा छान्नुपर्छ भनेर हामीलाई भनियो। त्यही विधि र संविधान मान्दै हामीले एक जनालाई सिफारिस गर्यौँ। यदि यो विधि गलत हो भने संविधान संशोधनको बहस चलिरहेको छ, यही बेला वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने भनी संविधान संशोधन गरौं,’ उहाँले भन्नुभयो । न्यायालयको परम्परा अनुसार नै गएको भए परिषद यसपालि पनि राजनीतिक भागबन्डामा अल्झिएर बसेको उहाँको दाबी छ। ‘परम्परा हेर्ने हो भने त संवैधानिक परिषद अहिले पनि भागबन्डामै अल्झिरहेको हुन्थ्यो। तर हामीलाई भागबन्डामा विश्वास छैन,’ उहाँले भन्नुभयो । उहाँले कार्यवाहक प्रधानन्यायाधीश सपना मल्ललाई इंकित गर्दै न्यायालयको विषयमा धेरै ‘टसल’ गर्ने र चुनौतीपूर्ण अभिव्यक्ति दिएर केही लाभ नहुने बताउनुभयो । ‘मेरो कुरा गर्नुहन्छ भने मेरो त गर्धन अझै पनि त्यहीँ छ। त्यस्तै रिस उठेको छ भने चलाइदिनुस् हतियार। होइन भने न्यायालयको प्रतिष्ठालाई सडकको विषय नबनाउनुस्,’ लामिछानेले भन्नुभयो । संविधानमा लेखिएका अक्षर पुराना दलको भए पनि त्यसको मर्म र भावनालाई आफूहरुले प्रतिनिधित्व गर्ने उहाँको भनाइ छ। ‘अहिले सरकारले असंवैधानिक काम गर्यो, विधि मिच्यो भन्ने कुरा उठाइएको छ। यो संविधान बन्दा राजनीतिक रूपले रास्वपाको उपस्थिति थिएन। तर संविधानमा लेखिएका अक्षर उहाँहरूको भए पनि त्यसको मर्म र भावनालाई हामीले प्रतिनिधित्व गरिरहेका छौं,’ लामिछानेले भन्नुभयो। यस्तै उहाँले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताए। ‘भूमिहीनहरूको समस्याबाट मैले आफ्नो छाती हटाएको छैन। कसैले पनि भूमिहीनहरूलाई उचाल्न जानैपर्दैन। हामी उहाँहरूलाई अधिकार दिन्छौं। उहाँहरूलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन,’ उहाँले भन्नुभयो आफ्नो पार्टीको कारणले एउटा पनि सुकुम्बासीको घर नठडिएको उनको भनाइ छ। ‘विगतमा उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको हो भन्ने जगजाहेर छ। हामी त यो समस्या समाधान गर्न चाहन्छौं,’ उनले भने। अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारामा बसेका र गैरकानुनी रूपमा सार्वजनिक जग्गा हडपेको अवस्था अहिलेको कदम चालिएको उहाँको भनाइ छ। यस्तै लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिनुभयो । उहाँले ७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्ति नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री साह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उहाँको भनाइ छ । उहाँले आफूलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरू राजनीतिक रुपमा परिपक्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म त यताको हो नि, म त उताको होनि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ । हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौँ न त भने होइन यो देशमो इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरु हौँ । हामी व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिँडेका छैनौँ । त्यसकारण यो सब बन्द गर्नुपर्छ । यसको कुनै गुन्जायस नै छैन । सम्भावना नै छैन । ७० वर्ष अगाडि यो देशमा मिल्नुपर्ने मान्छेबीच झगडा परेको कारणले हामी ७० वर्ष पछाडि परेका छौँ । त्यसकारण यो सम्भव छैन ।कहिलेकाँही मिडियाका साथीले फुटाउने रहर लागेर अनेक हेडलाइन दिन्छन् । बडो मुख मिठ्याउनुहुन्छ । आई एम सरी, वास्ना त आउला तर खाना सर्बिस हुनेवाला छैन । वी आर पोलिटिकल्ली म्याचुअर इाअफ ।” उहाँले आफूहरू नयाँ भएपनि बेवकुफ नभएको बताउनुभयो । उहाँले फरक प्रसंगमा बोल्दै सुकुम्बासीको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पार्नुभयो ।