हाम्रो पेज
विराटनगर,११ चैत । विराटनगरमा अत्यन्तै संवेदनशील र दुःखद घटना सार्वजनिक भएको छ, जहाँ एक युवकले आफ्नी पत्नीको हत्या गरी शव लुकाउने प्रयास गरेको पाइएको छ। विराटनगर महानगरपालिका–१५ हर्ताली हाट निवासी रोशन साहसँग सम्बन्धित उक्त घटनामा उनले आफ्नी ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। प्रहरीका अनुसार घटनापछि साहले सुनियोजित रूपमा शव लुकाउने प्रयास गरेका थिए। उनले श्रीमतीको हातखुट्टा बाँधी तन्नाले बेरि विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिमतर्फ रहेको कल्भर्टमुनि पानीभित्र फालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटना लुकाउने उद्देश्यले घरदेखि करिब ४–५ किलोमिटर टाढा उक्त स्थान चयन गरिएको पनि खुलेको छ। घटनाको जानकारी भने चार दिनपछि मात्र सार्वजनिक भयो। कल्भर्टमुनि पानीभित्र तन्नाले बेरिएको अवस्थामा शव देखेपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ प्रहरीलाई जानकारी गराउनुभएको थियो। त्यसपछि कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछाने तथा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। शव सडेको अवस्थामा फेला परेकाले प्रारम्भमा पहिचान गर्न कठिन भएको थियो। पछि हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान गर्दा मृतक कोमलकुमारी साह रहेको पुष्टि गरिएको हो। प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन रहनुभएको थियो। यसैबीच, रोशन साहले चैत ८ गते पत्नी हराएको भनी इलाका प्रहरी कार्यालय रानीमा निवेदन दर्ता गराएका थिए । तर अनुसन्धानको क्रममा उनकै संलग्नता देखिएको र घटना लुकाउन खोजिएको तथ्य सार्वजनिक भएको डीएसपी लामिछानेले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानले साहले घाँटी थिचेर हत्या गरेको देखाएको छ। त्यसपछि प्रमाण नष्ट गर्ने उद्देश्यले शवलाई टाढा लगी पानीभित्र फालिएको प्रहरीको भनाइ छ। शवको अवस्था र व्यवस्थापनको तरिकाले घटना योजनाबद्ध रहेको संकेत गरेको छ। प्रहरीले साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले बताएको छ । हाल उहाँ इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । घटनास्थलबाट शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। पोस्टमार्टम प्रतिवेदनपछि घटनाका थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ। प्रहरी स्रोतका अनुसार दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास र बारम्बारको विवाद यस घटनाको पृष्ठभूमि हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ।