मत गणना सुरु भएको मोरङका ३ क्षेत्रमै रास्वपाको अग्रता

हाम्रो पेज

२२ फाल्गुन २०८२, शुक्रबार ०७:५८

विराटनगर,२२ फाल्गुन । मोरङका तीनवटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। सुरुवाती परिणाम अनुसार मत गणना सुरु भएका तीनवटै क्षेत्रमा रास्वपाले प्रारम्भिक अग्रता कायम गरेको छ। मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ९६७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका शान्ति पाख्रिनले ६४३, नेपाली काँग्रेसका खड्ग फागोले ४३७ र नेकपा एमालेको घनश्याम खड्काले २३७ मत ल्याउनु भएको छ । क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशीले प्रारम्भिक अग्रता कायम गर्नुभएको छ । उहाँले १६३० मत ल्याउँदा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६०, नेकपामा अमनलाल मोदीले ३३८ र नेकपा एमालेका जीवन घिमिरेले २५२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नम्बर ५ मा रास्वपा कि आशा झाले १२२९ मत पाउँदै अग्रता सुरु गर्नुभएको छ । यो क्षेत्रमा जसपाका राजकुमार यादवले ५६५, नेकपाका शिवकुमार मण्डलले ३४५ र नेपाली काँग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी कवित कटवालले दिएको जानकारी अनुसार मोरङ क्षेत्र नं। १, ४ र ५ मा मतगणना कार्य जारी रहेको छ । बाँकी रहेका क्षेत्र नं २, ३ र ६ मा भने शुक्रवार बिहानदेखि मात्रै मतगणना सुरु गर्ने गरी सर्वदलीय सहमति भएको छ। जिल्लाका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ, जसमा २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्य लिङ्गी मतदाता रहेका छन् । क्षेत्रगत रूपमा हेर्दा मोरङ क्षेत्र नं. ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत खसेको छ । यस्तै क्षेत्र नं. ४ मा ६७।१५ प्रतिशत अर्थात् ८० हजार ६४ मत र क्षेत्र नं. ६ मा ६६.२३ प्रतिशत अर्थात् ९१ हजार २९२ मत खसेको छ । त्यसैगरी क्षेत्र नं. २ मा ६२.९७ प्रतिशत अर्थात् ८१ हजार ३४५ मत र क्षेत्र नं. ३ मा ६१.१७ प्रतिशत अर्थात् ९६ हजार ६७७ मत खसेको छ भने निर्वाचन क्षेत्र नं १ मा सबैभन्दा कम ६०.३६ प्रतिशत अर्थात् ७७ हजार ५८५ मत खसेको हो । अहिले गणना सुरु भएका तीन वटै क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ