हाम्रो पेज
विराटनगर, २८ माघ । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा उमेद्वार जीवन घिमिरेले मतदाताका सुझावलाई समेटेर प्रतिवद्धता पत्र सार्वजनिक गर्ने बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पहिलो चरणको घरदैलो कार्यक्रमसँगै मतदाताका सुझावहरु पनि संकलन गरेको जानकारी दिंदै उहाँले निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा भित्रै प्रतिबद्धता सार्वजनिक गर्ने बताउनुभएको हो ।
प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रममा घिमिरेले मतदाताले मुख्यगरि सडकको स्तरोन्नती, डुवानको समस्या, स्वास्थ्य उपचार र कृषकका सवालहरुलाई प्राथमिकतासाथ उठाएको बताउनुभयो ।
पटक–पटक जितेर गएकाहरुले काम नगरेको भन्दै गुनासो गर्ने मतदाताहरुको ठुलो जमात आफुले पाएको बताउंदै उहाँले मतदाताका सुझाव र मोरङ क्षेत्र नंं ४ को समग्र विकासलाई केन्द्रीत गरेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने बताउनुभयो ।
घिमिरेले भन्नुभयो,‘ पार्टी सदस्य मार्फत भेटघाट गर्दै पार्टीलाई चलायमान बनाईएको छ ।’ फागुन ४ गतेदेखि टोलसभा, कोणसभा, चुनावीसभाहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्रतिनिसभा सदस्यमा मनोनयन दर्तापछिको घरदैलो कार्यक्रममा अभूतपूर्व सहभागिता पाएको घिमिरेले बताउनुभयो । निर्वाचन आयोगको कार्यतालिका अनुशारको चुनाव प्रचारप्रसारको समय पर्खेर मतदाताहरु बसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ फागुन ४ गतेपछि देखि मोरङ ४ मा एमालेको जनहलर अझ ब्यापक हुनेछ ।’
नेता घिमिरे कोशी प्रदेश सरकारको संस्थापक सामाजिक विकास मन्त्री हुनुहुन्छ । उहाँले करिव तीन वर्षमा शिक्षा, स्वास्थ्य, खेलकुद, जेष्ठ नागरिक, महिला, बालिका, अपाङ्गता लगायतको क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएको थियो ।