हाम्रो पेज
काठमाडौं, २७ माघ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको यात्रुवाहक बस तामाकोशीमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा २ जना पुरुष र ४ महिला छन् । एपीएफका अनुसार प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो । एपीएफले ५ जना घाइते यात्रुको उद्धार गरिएको जनाएको छ । यद्यपि रामेछापका प्रहरी इन्स्पेक्टर राजनप्रसाद तिम्सिनाले १० जनाबढीलाई अस्पताल पठाइएको बताउनुभयो । विहान करिब पौने ११ बजे सडकबाट झण्डै २० मिटर तल नदीमा बस खसेको हो । अहिले संयुक्त सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । बसमा कति यात्रु सवार थिए यकिन भइनसकेको रामेछापका सीडीओ श्यामकृष्ण थापाले बताउनुभयो । उद्धार गरिएका बिरामीहरुलाई मन्थली र खुर्कोट अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताउनुभयो । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको भट्टले बताउनुभयो । अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ ।
