जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

हाम्रो पेज

२६ माघ २०८२, सोमबार १८:५४

काठमाडौं, २६ माघ ।  सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय गरेको छ।  सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदै छ।  आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो,’ बैठकपछि प्रवक्ता अर्यालले भन्नुभयो । सरकारले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न गत असोज ५ गते विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। त्यतिवेला तीन महिनाको कार्यादेश दिइएको थियो।  तर, आयोगले काम पूरा गर्न नसकेपछि गत पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिना म्याद थपेको थियो। आयोगले आफनो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद बैठकले पुन २० दिन म्याद थपेको थियो।  दोस्रो पटक थपिएको समयावधिभित्र पनि आयोगले आफनो प्रतिवेदन बुझाउन नसकेपछि आज तेस्रो पटक म्याद थपिएको हो।