एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’मा आजदेखि भर्ना आवेदन खुला,८० हजार सेना परिचालन हुने

हाम्रो पेज

२५ पुष २०८२, शुक्रबार १३:३८

काठमाडौं, २५ पुष । आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’मा आजदेखि भर्ना आवेदन खुला भएको छ।
आजदेखि १ माघसम्म आवेदन दिन सकिने नेपाल प्रहरीले जनाएको छ। गृह मन्त्रालयले निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वीकृति दिएको छ। आफ्नो कोटामा परेको एक लाख ३३ हजार ९८० जनाका लागि नेपाल प्रहरीले आजदेखि भर्ना खुला गरेको हो। नेपाल प्रहरीले आफ्नो कोटाको मात्रै निर्वाचन प्रहरीको भर्ना खोलेपछि सशस्त्र पुग्यो गृह सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीका लागि केही दिनमै आवेदन खुलाउने तयारी गरेको छ । निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाउने तयारी सरकारले गरेको हो। निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरु सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो। निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।


८० हजार सेना परिचालन हुने
नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनु भएकोछ । एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ ।