कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित, गगनले पुस भित्रै विशेष महाधिवेशन गर्ने

हाम्रो पेज

१८ पुष २०८२, शुक्रबार १९:२४

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । पुस २६–२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्नुभएको थियो। महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गर्नुभएको थियो । यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा हुनुहुन्छ ।

यस्तो छ पारित भएको नयाँ तालिका

चैत २१ – वडा अधिवेशन
चैत २५( गाउँरनगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन
वैशाख १०, ११ र १२ – प्रदेश अधिवेशन
वैशाख २८, २९, ३० र ३१ केन्द्रीय अधिवेशन

यता नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा गर्ने निर्णय गरेसँगै महामन्त्री गगन थापाले पुसभित्रै विशेष महाधिवेशन गर्ने बताउनु भएको छ । कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले बहुमतले महाधिवेशनको कार्यतालिका पारित भएको बताए। विधानअनुसार, महाधिवेशनको कार्यतालिका पारित गरिएको भए पनि विधान अनुसार नै विशेष महाधिवेशन हुने बताउनुभयो। ‘मन लागेको विषयमा विधान हेर्ने, मन नलागेको विषयमा विधान नहुर्ने भन्ने हुँदैन। विशेष महाधिवेशनबारे निर्णय हुनैपर्छ,’ थापाले भन्नुभयो, ‘एक–दुई दिनको समय छ। केन्द्रीय कार्यसमितिको बैठक राखेर विशेष महाधिवेशन बोलाउनुपर्छ।’ केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विशेष महाधिवेशनका विषयमा निर्णय नभएमा आफूले विशेष महाधिवेशन गर्ने थापाको भनाइ थियो। महामन्त्री भनेको कांग्रेसको केन्द्र भएकाले त्यसका आधारमा विशेष महाधिवेशन गर्ने उहाँले बताउनुभयो।
विधान अनुसार, नै महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले त्यहीअनुसार, केन्द्रले निर्णय गर्नुपर्ने बताउँदै महामन्त्री थापाले भन्नुभयो, ‘म टुलुटुृल हेरेर बस्दिँन। विधानको धारा अनुसार जान्छु। आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गर्छु।’ एक–दुई दिन केन्द्रीय कार्यसमितिलाई पर्खिने  बताउनुभयो । ‘केन्द्रीय कार्यसमितिले आयोजना गर्ने वा नगर्ने एक–दुई दिनमा प्रष्ट हुन्छ,’ थापाले देशभकार महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्दै भन्नुभयो, ‘पुस मसान्तभित्र विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्नुहोला।’ तालिका परिवर्तन गरी वैशाख २८ –३१ मा गर्ने पारित भएको निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राख्नु भएको छ । बैठकमा थापा, शर्मा, नेता अर्जुननरसिंह केसी, फर्मुल्ला मन्सु र उमा रेग्मीले फरक मत राख्नु भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन् ।