रवि आज रिहा हुँदै, हुस्सु लागेपछि विमानबाट भैरहवा पुग्न ढिलाइ

हाम्रो पेज

४ पुष २०८२, शुक्रबार १२:२९

काठमाडौं,४ पुष । रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिनु भएको छ । बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुग्नु भएका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिनु भएको हो । फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘विमानस्थल खुलेपछि आउनुहुन्छ, त्यसपछि जिल्ला अदालत उपस्थित हुनुहुन्छ।’ विमानस्थल खुल्न अझै समय लाग्न सक्ने रुपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले बताए । उनले भने, ‘भिजिवलिटी अहिले निकै कम छ, अब घाम लागेपछि मात्रै खुल्छ ।’ सामान्यता भिजिवलिटी १८ सय हुनुपर्ने भए पनि अहिले जम्मा ३, ४ सय मात्रै रहेको उहाँले बताउनुभयो । उच्च अदालत बुटवलले हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले आज निवेदन दिनुपर्नेछ । त्यसपछि जम्मा भएको २ करोड ७४ लाख रकम बैंक प्रतिनिधिले बुझ्ने र रविलाई कागज गराएर छाडिने अर्यालले बताउनु भयो । भैरहबाबाट रिहा भएपछि रवि चितवन कार्यक्रममा सहभागी हुन् जाने कार्यक्रम छ । शनिबार चितवनको २४ कोठीमा कार्यक्रम राखिएको छ । लामिछानेको कार्यक्रमलाई विशेष सम्बोधन हुनेछ । त्यसपछि मात्रै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उहाँले आफ्नो बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त गर्न उच्च अदालतमा निवेदन दिनु भएको थियो । त्यसमा सुनुवाइ गर्दै उच्च अदालतको बुटवल इजलासले धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको हो । आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको बैंक ग्यारेन्टी बुझाएपछि रिहा हुने अदालतले जनाएको छ ।