search logo
NOTIFICATIONS

प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

हाम्रो पेज

९ आश्विन २०८२, बिहीबार ११:५९

काठमाडौं,९ आश्विन । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ । त्यसअघि दिउँसो ४ बजे उहाँले प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ। गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । उहाँको नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ। यसैबीच, प्रधानमन्त्री कार्कीलाई युरोपेली संघ ईयू सहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतले आज दिउँसो साढे २ बजे शिष्टाचार भेट गर्ने भएका छन्। भेट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै हुनेछ। जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनले नेपालमा विभिन्न मुलुकको चासो बढाएको छ। यसअघि नै भारत, अमेरिका र चीनका राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटिसकेका छन्।यसै सन्दर्भमा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन ले प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरिएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ । बुधबार बिहान बालुवाटारमा बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका क्रममा ‘बाहिरको माहोल के छ ?’ भन्ने जिज्ञासामा आफ्नो धारणा राख्दै जेनजीका माग र विशेषगरी भदौ २३ गतेको प्रदर्शनमा गोली चलाउने तथा आदेश दिनेहरूमाथि कारबाही नभएकोमा प्रश्न उठाउनु भएको थियो । बालेनले भन्नुभयो , ‘सरकार गठन भएको यतिका दिन भइसक्यो। गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन् ?अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएनः’ बालेन निकट स्रोतका अनुसार, पीडित परिवारहरूले पनि यो प्रश्न उठाइरहेको र तत्काल कारबाही नभए असन्तोष बढ्दै जान सक्ने उनले प्रधानमन्त्रीलाई सचेत गराउनु भएको थियो ।