हाम्रो पेज
ललितपुर, २२ भाद्र । गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेकपा एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सामाजिक संजालमाथिको प्रतिबन्धतर्फ लक्षित गर्दै बेथिति र हेपाहा प्रवृत्तिको सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहने बताउनु भएको छ । उहाँले राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन भन्दै नेकपा एमाले वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएको शक्ति भएको स्पष्ट पार्नुभयो । ओलीले सामाजिक सञ्जालका विरुद्धमा एमाले नरहेको तर नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य नहुने बताउनुभयो । अहिले केही मान्छेहरू विरोध मात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्,ु उहाँले भन्नुभयो, कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ। उनले पछिल्लो समयमा जेनजी पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको बताए पनि जेनजी पुस्ताले देशलाई माया गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले एक वर्षअघिदेखि सामाजिक सञ्जाललाई दर्ता गर्न भनेको स्मरण गराउँदै अध्यक्ष ओलीले भन्नुभयो , अहिले चार जना मानिसको रोजगारी खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो। देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ ? ‘मलाई जति सुकै हेपियोस् म हेपिन तयार छु र सहन्छु । तर देशलाई हेपेको सहन्नँ । देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्याउन पाइँदैन’, ओलीले भन्नुभयो ।स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ। समग्रमा, सामाजिक सञ्जाल प्रतिबन्धको विषयले नेपालको राजनीतिक र सामाजिक वृत्तमा ठूलो बहस सिर्जना गरेको छ। सरकारले यसलाई व्यवस्थित गर्ने आवश्यकता औँल्याएको छ भने नागरिक समाज र पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विरोध प्रदर्शन जारी राखेका छन्। भोलि सोमबार बिहान ९ बजेदेछि थापाथलीस्थित माइतीघर मण्डलासहित देशभरका जिल्ला प्रशासन कार्यालय अघि जेन जेडले आन्दोलन गर्दैछन् ।
