असोज १ देखि सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, यातायात विभागद्वारा निर्देशन जारी

हाम्रो पेज

३ भाद्र २०८२, मंगलवार १५:१६

काठमाडौं ३ भाद्र । यातायात व्यवस्था विभागले २०८२ साल असोज १ गतेदेखि दर्ता, नामसारी र नवीकरण हुने सबै सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूलाई यो निर्णय कार्यान्वयन गराउन भनेको हो। यो निर्णय गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले गरेको थियो। सोही निर्णयअनुसार विभागले अब सवारी दर्ता, नामसारी वा नवीकरण गर्न आउने सवारी धनीहरूलाई अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लगाउन निर्देशन दिएको हो। सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ, विभागद्वारा जारी सूचनामा उल्लेख छ।  इम्बोस्ड नम्बर प्लेट परम्परागत पेन्टले लेखिएका नम्बर प्लेटभन्दा फरक, उच्च प्रविधि र सुरक्षात्मक विशेषता भएको नम्बर प्लेट हो। यसमा अक्षर र अंकहरू प्लेटको सतहभन्दा माथि उठेका इम्बोस्ड हुन्छन्, जसलाई मेटाउन वा परिवर्तन गर्न सकिँदैन। प्लेटभित्र एउटा सानो रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन चिप जडान गरिएको हुन्छ। यसमा सवारी साधनको सम्पूर्ण विवरण धनीको नाम, इन्जिन नम्बर, च्यासिस नम्बर, कर तिरेको विवरण आदि डिजिटल रूपमा भण्डारण गरिएको हुन्छ। ट्राफिक प्रहरी वा सम्बन्धित निकायले रिडरको माध्यमबाट टाढैबाट यो जानकारी प्राप्त गर्न सक्छ। यसमा नेपाल सरकारको लोगो र होलोग्राम हुन्छ, जसले गर्दा यसको नक्कल गर्न लगभग असम्भव हुन्छ। हरेक प्लेटमा एक युनिक सेक्युरिटी नम्बर हुन्छ, जसले यसलाई थप सुरक्षित बनाउँछ। देशैभरिका सवारी साधनमा एउटै मापदण्ड र ढाँचाको नम्बर प्लेट लागू हुन्छ, जसले व्यवस्थापनमा सहजता ल्याउँछ।
सरकारले सवारी साधनको व्यवस्थापनलाई आधुनिक र सुरक्षित बनाउन यो प्रणाली लागू गर्न लागेको हो। चिप र परिवर्तन गर्न नसकिने बनावटका कारण चोरी भएका सवारी साधन सजिलै पत्ता लगाउन सकिन्छ। सबै सवारी साधनको विवरणलाई केन्द्रीकृत र डिजिटल प्रणालीमा ल्याउन मद्दत पुग्छ। कर नतिर्ने वा नवीकरण नगर्ने सवारी साधनलाई सजिलै पहिचान गरी कानुनी दायरामा ल्याउन सकिन्छ,अपराधिक गतिविधिमा प्रयोग भएका सवारी साधनको पहिचान तत्काल गर्न सकिने हुँदा अपराध नियन्त्रणमा सहयोगी हुन्छ, नियम उल्लंघन गर्ने जस्तै तीव्र गति सवारीलाई स्वचालित रूपमा पत्ता लगाउन र कारबाही गर्न सहज हुन्छ। यो प्रणालीले सवारी साधनको व्यवस्थापनलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउँदै समग्र यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य राखेको छ। विभागको निर्देशनपछि अब सवारी धनीहरूले आफ्नो पालोमा अनिवार्य रूपमा यो नयाँ प्रविधिमा जानुपर्नेछ।