पश्चिममा मनसुन सक्रियःबाढीपहिरोले घर पुरिए, देशका मुख्य राजमार्गहरू अवरुद्ध
हाम्रो पेज
२९ श्रावण २०८२, बिहीबार १२:२३
फाइल तस्विर
विराटनगर,२९ श्रावण । मनसुनको न्यून चापीय रेखा तराई नजिकै रहँदा र पश्चिमी क्षेत्रमा मनसुन थप सक्रिय हुँदा देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकीदेखि पश्चिमका प्रदेशहरूमा ठूलो वर्षाको सम्भावना रहेको छ, जसका कारण बाढी र पहिरोले भौतिक क्षति पुर्याउनुका साथै मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्वभन्दा पश्चिममा बढी सक्रिय भएको जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशलगायत अन्य केही स्थानमा मध्यम वर्षा हुनेछ। गएराति डोटी, बाजुरा, अछाम र भोजपुरमा भारी वर्षा मापन गरिएको थियो भने काठमाडौं उपत्यकामा पनि पानी परिरहेको छ।
लगातारको वर्षापछिको बाढी र पहिरोले देशका विभिन्न स्थानमा भौतिक क्षति पुऱ्याएको छ । बाजुरामा हिमाली गाउँपालिका १ मा रहेको बिच्छ्या खोलाको बाढीले दुईवटा घर पूर्ण रूपमा पुरेको छ भने चार घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, बाढीले झोलुङ्गे पुल, बिच्छ्या मावि र वडा कार्यालयसहित १७ वटा सरकारी संरचनामा क्षति पुर्याएको छ। अन्य १५ घर उच्च जोखिममा रहेकाले कुवाडी खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। मुस्ताङस् उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ढीसुर्खाङ खोलाको बाढीले पक्की मोटरेबल पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। यसले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडक सञ्जाल टुटेको छ र अर्को सूचना नआएसम्म उक्त सडक खण्डमा आवतजावत रोक लगाइएको छ।
पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । जयपृथ्वी राजमार्ग बझाङ बित्थडचिर गाउँपालिका१, पैरामा पहिरो खस्दा राजमार्ग ठप्प भएको छ। घोराही थबाङ सहिदमार्ग रोल्पा त्रिवेणी गाउँपालिका २, दुईखोलीमा पहिरोका कारण सडक अवरुद्ध छ। भीमदत्त राजमार्ग डडेलधुरा अमरगढी नगरपालिका ७, भालुमारेमा पहिरोसहित रुख ढल्दा राजमार्ग पूर्ण रूपमा बन्द छ। जाजरकोट डोल्पा सडकखण्ड जाजरकोट नलगाड नगरपालिका ११, छहराभीरमा ढुंगासहितको पहिरोले बाटो अवरुद्ध भएको छ। मदन भण्डारी राजमार्ग गुल्मी रिडी तम्घास खण्डको रुरुक्षेत्र ३, बाख्रेभीरमा पहिरो खसेपछि सडक बन्द छ। प्रहरीका अनुसार, पानी परिरहेकाले पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, नारायणी, कर्णाली जस्ता ठूला नदीहरूको बहाव सतर्कता तहभन्दा तल नै छ, तर दिउँसो बढ्ने क्रममा रहनेछ। विशेषगरी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ। यसैगरी, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, गोरखा, कास्की, गुल्मी, पाल्पा, दाङ, बाँके, बर्दिया, रोल्पा, दैलेख, बाजुरा, बझाङ, दार्चुला लगायतका जिल्ला भई बहने केही साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।