हाम्रो पेज

विराटनगर १८ श्रावण । नेपाल कम्युनिस्ट पार्टी एमाले विराटनगर महानगर कमिटी अन्तर्गतका वडाहरूको अधिवेशन सम्पन्न भएको छ। अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भए पनि तीन वटा वडामा भने मतदान प्रक्रियाबाट नेतृत्व टुंगो लगाइएको छ। शनिबार सम्पन्न अधिवेशनमा विराटनगरका १९ वडामध्ये १७ वडाको अधिवेशन सम्पन्न भएको हो। जसमध्ये वडा नं ४, १० र १४ मा अध्यक्ष पदका लागि एकभन्दा बढी आकांक्षी देखिएपछि मतदान भएको थियो। वडा नं ४मा नवराज काफ्ले १४६ मतसहित विजयी हुनु भएको छ। उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी राधेश्याम घिमिरेलाई ९९ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो। घिमिरेले ४७ मत प्राप्त गर्दा ३ मत बदर भएको थियो। काफ्ले यसअघि पनि सोही वडाका अध्यक्ष हुनुहुन्थ्यो । उहाँको वडामा भएका सिर्जनात्मक कामका कारण चर्चामा हुनुहुन्थ्यो । यस्तै वडा नं १०मा कृष्ण तिम्सीना ४७ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी महेश मण्डलले ३६ मत प्राप्त गर्नुभयो । वडा नं १४मा सन्तोष शर्मा ६२ मतसहित विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी दयाराम महतोले ४३ मत प्राप्त गर्नुभयो ।
महानगरका १४ वटा वडाहरूमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। निर्वाचित हुने अध्यक्षहरूमा ९ जना पुरानै अनुहार दोहोरिएका छन्। सर्वसम्मत निर्वाचित हुने वडा अध्यक्षहरूमा
वडा नं १ इश्वर रिजाल
वडा नं २ प्रविणचन्द्र कर्ण
वडा नं ३ इश्वर निरौला
वडा नं ५ राजेश गिरी
वडा नं ६ नारायण बराल
वडा नं ८ भुवन राजवंशी
वडा नं ११ सूर्यकिरण घिमिरे
वडा नं १२ भानुभक्त पाठक
वडा नं १३ निरज वस्नेत
वडा नं १५ भिखारी खत्वे
वडा नं १६ धनकुमार लामा
वडा नं १७ मोहम्वत गुल्जार
वडा नं १८ जितेन्द्र कामत
वडा नं १९ अमिरलाल चौधरी
दुई वडामा भने अधिवेशन स्थगितभएको छ । वडा नं ७ र ९ को अधिवेशन भने स्थगित भएको छ। महानगर कमिटी सचिव विज्ञान शर्माका अनुसार, वडा नं ७ का अध्यक्ष अस्वस्थ भएको र वडा नं ९ का अध्यक्ष विराटनगर बाहिर रहेका कारण अधिवेशन स्थगित गरिएको हो। स्थगित अधिवेशन यही साउन २५ गते हुने तय भएको छ। केही वडाहरूमा निर्वाचन भएपछि संस्थापन र इतर समूहबीचको प्रतिस्पर्धाका कारण मतदान भएको भन्ने प्रचारको महानगर कमिटी अध्यक्ष बलराम गिरीले खण्डन गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भन्नुभएको छ,, विराटनगर महानगरको वडा अधिवेशनको सन्दर्भमा कुनै संस्थापन र इतर समूह छैन। एकभन्दा बढी आकांक्षी हुनुभएकाले केही वडामा स्वस्थ प्रतिस्पर्धा र निर्वाचन भएको हो।
