ट्रान्सपोर्ट एसोसिएसन विराटनगरको अध्यक्षमा शम्भु भट्टराई

हाम्रो पेज

२५ जेष्ठ २०८२, आईतवार १४:३६
विराटनगर, २५ जेठ । ट्रान्सपोर्ट एसोसिएसन विराटनगरको अध्यक्षमा शम्भु भट्टराई (सोमप्रसाद) निर्वाचित हुनुभएको छ । शनिबार विराटनगरको एक होटलमा सम्पन्न एसोसिएसनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले अध्यक्षमा भट्टराईसहित सिंगो कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

एसोसिएसनको उपाध्यक्षमा खगेन्द्र सिग्देल, महासचिवमा युवराज श्रेष्ठ, सचिवमा विनोद राजबंशी र कोषाध्यक्षमा केशवकुमार कार्की निर्वाचित हुनुभएको छ I यस्तै सदस्यहरूमा राजकुमार खड्का, सन्तोष घिमिरे, कृष्ण बजगाई, यति राजवंशी, ऋषि पोखरेल र हिमांशु जोशी निर्वाचित हुनुभयो ।

यसघि अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले यातायात क्षेत्रको विकृति-विसंगति हटाउन प्रदेश सरकार एसोसिएसनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । यातायात व्यवस्था कार्यालयमा अहिले पूर्णरुपमा सुधार गरिएको जानकारी दिँदै मन्त्री भण्डारीले अझै सुधारका लागि सुझाव दिन आग्रह समेत गर्नुभयो ।

उद्घाटन कार्यक्रममा ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष अरुण श्रेष्ठ, महासंघका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार सन्तबहादुर डुम्जन, कोशी ट्रक व्यवसायी संघका अध्यक्ष विद्यापति उपाध्याय, मोरङ उघोग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारालगायतले शुभकामना व्यक्त गरेका थिए ।