
काठमाडौँ, १५ श्रावण । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १८ वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त निर्णयहरू सार्वजनिक गर्नुभएको हो। बैठकले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गर्ने, तराई मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्ने तथा महत्त्वपूर्ण नियुक्ति र वैदेशिक सहायता स्वीकार गर्ने जस्ता दूरगामी महत्त्वका निर्णयहरू गरेको छ। मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृत गरेको छ। भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली यही साउन १८ देखि २३ गतेसम्म तुर्कमेनिस्तान जानुहुनेछ। बैठकले सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गरेको छ। वर्षाको अभावले मर्कामा परेका किसानहरूलाई राहत प्रदान गर्न सरकारले तराई मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। प्रवक्ता गुरुङका अनुसार यस घोषणासँगै प्रभावित किसानहरूका लागि आवश्यक राहत तथा अन्य व्यवस्थाहरू गरिनेछ। बैठकले देशको पूर्वाधार विकास र सिँचाइ प्रणाली सुदृढ गर्न महत्त्वपूर्ण वैदेशिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २ दशमलव ८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरिएको छ। रानी जमरा सिँचाइ आयोजनाको तेस्रो चरणका लागि विश्व बैंक समूहबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरिएको छ। सरकारले विभिन्न निकायमा महत्त्वपूर्ण नियुक्ति तथा बढुवा गरेको छ, जसअनुसारः न्याय सेवा आयोगको सिफारिसमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेललाई मुख्य रजिस्ट्रार पदमा बढुवा गरिएको छ। नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरिएको छ। भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा कास्कीका डा. उज्जवल चालिसेलाई नियुक्त गरिएको छ। सार्वजनिक संस्थान, बोर्ड, समिति जस्ता राज्यकोषबाट लगानी भएका निकायका पदाधिकारी र कर्मचारीहरूको पारिश्रमिक तथा सेवासुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ। रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित कार्यदलमा रमेशप्रसाद शिवाकोटी र चण्डीप्रसाद घिमिरे सदस्य रहनुभएको छ।