हाम्रो पेज
विराटनगर, १४ श्रावण । विराटनगरस्थित ब्राइट भिजन ल कलेजले गरेको नमूना अदालत (मुट कोर्ट) प्रतियोगितामा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल र मनिष सिग्देलको टोली प्रथम भएको छ ।कोशी प्रदेशमै पहिलोपटक ब्राइट भिजन कलेजले गरेको प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिष्पर्धा गरिएको थियो । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि आवश्यक भएकाले यसखाले (मुट कोर्ट) प्रतियोगिता आयोजना गरिएको कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा विद्यार्थीहरुले काल्पनिक मुद्दामाथि बहस गरेको उहाँले बताउनुभयो । मुट कोर्टले कानुनका विद्यार्थीलाई आफ्ना भावी दिनमा उत्कृष्ट अधिवक्ता बन्न प्रशिक्षित गर्ने कलेजका प्रमुख आचार्यले बताउनुभयो ।
फाईनल प्रतियोगिताका प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश राजनप्रसाद भट्टराईले नमूना अदालत भएपनि आफुले साच्चिकै इजलास जस्तै अनुभूति गरेको प्रतिक्रिया दिनुभयो । उहाँले प्रतिष्पर्धी विद्यार्थीहरु स्थापित कानुन व्यवसायी जस्तै भएको आफुले पाएको बताउनुभयो । प्रतियोगिताले विद्यार्थीको तर्क, क्षमता र अनुसन्धानको विकास हुने मुख्य न्यायाधिश भट्टराईले बताउनुभयो ।