नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माको सपथ,मन्त्रिपरिषद् १५ सदस्यीय बन्यो

हाम्रो पेज

११ पुष २०८२, शुक्रबार १६:२८

काठमाडौं,११ पुष । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनु भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । अब मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । शर्मा नेपाली सेनाका पूर्वरथी हुनुहुन्छ । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उहाँ सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहनु भएको थियो । शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गर्नुभएको छ । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहनु भएका उहाँ अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थसमेत झन्डै ४ वर्ष खटिनु भएको थियो । मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माको महत्त्वपूर्ण भूमिका थियो ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले चुनावका सन्दर्भ परराष्ट्र मन्त्रालयले छिमेकी मुलुकसँग कुनै किसिमको सहकार्य गर्नुपर्ने कुराहरु रहेछ भनेदेखि त्यसलाई सही तरिकाले उठान गर्ने बताउनु भएको छ । ‘दुई छिमेकी नवोदित राष्ट्रहरुको अनुभव ज्ञान लिनुपर्छ सहकार्य गर्दै अगाडि जान सकिन्छ भन्नेमा विश्वास छ ।’ नवनियुक्त मन्त्री शर्माले पदभारपछि भन्नुभयो । मन्त्री शर्माले प्रधानमन्त्रीबाट कार्यादेश आएपछि आफ्ना कामका बारेमा जानकारी गराउने उपस्थित सञ्चारकर्मीहरुलाई बताउनुभयो । उहाँले भन्नुभयो ,’भर्खर त म आएँ, पदभार ग्रहण गरें, अब कार्यादेश आउन बाँकी छ कार्यादेश आएपछि अनि बल्ल म भन्न सक्छु । यतिबेला मैले पदभार मात्र ग्रहण गरेको हुँ ।’