सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा भेटिए, दुर्गमता र बिरामीले गाउँ छाडेको खुलासा

हाम्रो पेज

१३ श्रावण २०८२, मंगलवार ११:५२

पोखरा, १३ श्रावण । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट यही साउन १० गतेदेखि बेपत्ता भएको उर्मिला हायूको परिवार कास्कीको पोखरामा सुरक्षित अवस्थामा फेला परेको छ । कामको खोजीमा पोखरा पुगेका उनीहरूले गाउँको दुर्गमता, पटक–पटकको बिरामी र अभावका कारण थातथलो छाड्न बाध्य भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, बेपत्ता भएको भनिएको १६ जनाको परिवारका सदस्यसहित १९ जनालाई पोखरा महानगरपालिका–३०, गगनगौंडाबाट फेला पारिएको हो । उनीहरू सोमबार दिउँसोदेखि स्थानीय चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा बास मागिरहेका थिए । आफूहरूलाई ज्यामी कामदार बताउँदै उनीहरूले काम खोज्न आएकोले बस्ने ठाउँ मिलाइदिन आग्रह गरेका थिए । प्रहरीसँगको सोधपुछमा उनीहरूले आफ्नो मार्मिक व्यथा सुनाए । हामीलाई त्यो ठाउँमा सन्चो भएन । परिवारका सदस्यहरू पटक पटक बिरामी परिरह्यौं, उनीहरूले भने, एक बोरा चामल किन्न वा बिरामी भएर अस्पताल जान पनि एक दिनभन्दा बढी लाग्छ । गाउँ दुर्गम र घर एकान्तमा भएकाले आफन्त पनि कोही छैनन् । त्यसैले जे पर्छ, त्यही टर्छ भनेर घर छाडेर हिँडेका हौं । उर्मिला हायूको परिवार साउन १० गते शुक्रबार घरबाट हिँडेको थियो । शनिबार पोखरा पुगेर एक रात होटलमा बसेपछि उनीहरूले काम र बासको खोजी सुरु गरेका थिए । तत्काल घर फर्किने योजना नरहेको र नयाँ ठाउँमा काम गरेर बस्ने मनसाय बनाएको उनीहरूले प्रहरीलाई बताएका छन् । कास्की प्रहरीले उनीहरूलाई फेला पारेपछि वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायत स्थानीयको रोहबरमा पोखरामा रहेका आफन्त धनबहादुर तामाङ र अमिस तामाङको जिम्मा लगाएको छ । एसपी ओलियाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय भइरहेको र उनीहरूलाई घर फर्काउने विषयमा छलफल चलिरहेको जानकारी दिनुभयो। घर छाडेर हिँड्नेहरूमा ५२ वर्षीया उर्मिला हायूसहित उहाँको पूरा परिवार र केही नातेदार छन् । परिवारका मुख्य सदस्यहरूमा छोरीहरू २७ वर्षीया कमला हायू, २२ वर्षीया उषा हायू, १८ वर्षीया अस्मिता हायू, १२ वर्षीया शान्ता हायू, १० वर्षीया ओमकुमारी हायू। यसैगरी छोराहरूमा २९ वर्षीय राजु हायू, २४ वर्षीय हिमाल हायू, १६ वर्षीय लालबहादुर हायू, १४ वर्षीय बेगबहादुर हायू, १२ वर्षीय सुवर्ण हायू, ११ वर्षीय लक्की हायू, बुहारी २३ वर्षीया कोमल माया हायू नाति नातिना, ४ वर्षीया रियासा हायू र १ वर्षीय अर्जुन हायू रहेका छन् ।