हाम्रो पेज

विराटनगर, ७ श्रावण । नेकपा एमाले विराटनगर महानगर कमिटीले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्रता दिँदै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। महानगर अध्यक्ष बलराम गिरीको अध्यक्षतामा बसेको प्रथम सचिवालय बैठकले यही साउन १७ गते एकैदिन १९ वटै वडाको तेस्रो अधिवेशन सम्पन्न गर्ने लगायतका वार्षिक कार्ययोजना पारित गरेको हो। अधिवेशनलाई भव्य, व्यवस्थित र विधिसम्मत रूपमा सम्पन्न गर्न पार्टीले आवश्यक तयारी समेत थालेको छ। यसका लागि वरिष्ठ अधिवक्ता गुणराज लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय महानगर निर्वाचन समिति गठन गरिएको छ। समितिमा अधिवक्ताहरू डिल्लीराम घिमिरे, विश्वराम भट्टराई, महेश खड्का र महानगर निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुकुमारी तामाङ सदस्य रहनुभएको छ। त्यसैगरी, प्रत्येक वडामा पनि तीन तीन सदस्यीय निर्वाचन समिति गठन गरी पठाइने निर्णय भएको अध्यक्ष गिरीले जानकारी दिनुभएको छ। यस्तै बैठकले साउन मसान्तभित्र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने , साउन ३१ गते नवनिर्वाचित वडा पदाधिकारीहरूका लागि अभिमुखीकरण तथा पार्टी स्कुल सञ्चालन गर्ने निर्णय समेत गरेको छ । सोही बैठकको निर्णय वमोजिम महानगरले बुधबार ४७औं पुष्पलाल स्मृति दिवसको अवसरमा विराटनगरस्थित पुष्पलाल चोकमा साँझ ६ः३० बजे दीप प्रज्वलन गर्दैछ । साङ्गठनिक निर्णयका साथै बैठकले विराटनगरको प्रमुख समस्याको रूपमा रहेको डुबानप्रति पनि गम्भीर चासो व्यक्त गरेको छ। वर्षायाममा हुने डुबान नियन्त्रणका लागि दीर्घकालीन, मध्यकालीन र तत्कालीन योजनाहरू बनाएर तत्काल कार्यान्वयनमा लैजान महानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ।