स्पेन प्रकरण र मन्त्रीको घुस डिल बारे प्रधानमन्त्रीसँग जवाफ माग, रास्वपा र राप्रपाद्वारा संसद बहिष्कार
हाम्रो पेज
२९ असार २०८२, आईतवार १७:५०
काठमाडौं २९, अषाढ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारमाथि गम्भीर प्रश्नहरू उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन्। प्रधानमन्त्रीको हालैको स्पेन भ्रमण र मन्त्रीहरूमाथि लागेको भ्रष्टाचारको आरोपलाई केन्द्रमा राखेर विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले कर्मचारी सरुवामा मन्त्रीहरूबाटै ‘घुस डिल’ भइरहेको भनी सार्वजनिक भएका समाचारहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। उहाँले यस विषयमा प्रधानमन्त्रीले सदनलाई स्पष्ट जानकारी दिनुपर्ने माग गर्नुभयो। त्यसैगरी, नेकपा एकीकृत समाजवादीका सांसद माननीय राजेन्द्र पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमाथि भ्रष्टाचारको गम्भीर प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिनुपर्नेमा जोड दिनुभयो। यही विषय रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि उठाउनु भएको थियो । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिनको माग गर्दै आजको बैठक बहिष्कार गरेका छन्। सभामुख माननीय देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाउनुभएको थियो। त्यसपछि बोल्ने समय पाउनुभएकी रास्वपाकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीको माग पूरा नभएसम्म विरोध जारी रहने अडान व्यक्त गर्नुभयो। उहाँले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रममा गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने मागसमेत राख्नुभयो। लगत्तै, राप्रपाका प्रमुख सचेतक माननीय ज्ञानबहादुर शाहीले पनि आफ्नो दलले उठाउँदै आएको माग यथावत् रहेको र सरकारले माग पूरा नगरेसम्म विरोधका कार्यक्रमहरू निरन्तर रहने बताउनुभयो।
विपक्षी दलहरूको विरोध र बहिष्कारका बीच जारी रहेको प्रतिनिधिसभाको अर्को बैठक सोमबर दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।