हाम्रो पेज
काठमाडौं २९ अषाढ । क्यान्सर जस्तो महँगो रोगको उपचारमा आर्थिक अभावले पिल्सिएका विपन्न बिरामीहरूका लागि ठूलो राहतको खबर छ। अमेरिकास्थित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा प्राप्त भएका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू अब नेपालका प्रमुख चार सरकारी अस्पतालमार्फत निःशुल्क वितरण गरिने भएको छ। अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वर्ल्डवाइडको समन्वयमा प्राप्त यी औषधिहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो। मन्त्रालयले आइतबार एक कार्यक्रम आयोजना गरी उक्त सामग्रीहरू तत्कालै क्यान्सर उपचारमा संलग्न प्रमुख अस्पतालहरूलाई हस्तान्तरण गरेको छ। मन्त्रालयले यी औषधिहरू चार अस्पतालमा उपचाररत क्यान्सरका बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
वीर अस्पताल, काठमाडौं
यी औषधिहरू असार २७ गते शुक्रबार नेपाल आइपुगेका थिए, जसलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले सुरक्षित भण्डारण गरेको थियो। औषधि हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो सहयोग विपन्न नागरिकका लागि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालमा क्यान्सरको समस्या गम्भीर छ, औषधि महँगो छ र सबैको पहुँचमा छैन। यो सहयोगले राज्यको कुनै लगानी बिना नै विपन्न नागरिकलाई ठूलो राहत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ।” मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउँदै नेपालमा करिब ५० लाख मानिसलाई राज्यले प्रदान गर्ने निःशुल्क उपचार सेवाबारे जानकारी नै नभएको दुःखद यथार्थ औंल्याउनुभयो। उहाँले लक्षित समूहसम्म यस्ता कार्यक्रमबारे जानकारी पुर्याउन विशेष पहल गरिने बताउनुभयो। प्राप्त औषधि तथा सामग्रीहरू स्तन क्यान्सर लगायत प्लाक सोरियासिस र अल्जाइमर जस्ता अन्य जटिल स्वास्थ्य समस्याको उपचारमा समेत प्रयोग हुनेछन्। मन्त्रालयले सम्बन्धित निकायहरूसँगको समन्वयमा भविष्यमा पनि यस्ता अत्यावश्यक औषधिहरूको आपूर्ति निरन्तर गराउने प्रतिबद्धता व्यक्त गरेको छ।