हाम्रो पेज
सुन्दरहरैँचा, मोरङ २९ अषाढ । बढ्दो पारिवारिक विखण्डन, सम्बन्धविच्छेद र घरेलु हिंसाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा नगरपालिकाले एक अनुकरणीय र सकारात्मक अभियान सञ्चालन गरेको छ। प्रेमको प्रतीक मानिने ‘ढुकुर’ को नामबाट नगरपालिकाले समाजमा आपसी समझदारी, समर्पण र पारिवारिक मूल्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने १२ दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको छ। आइतबार आयोजित एक विशेष कार्यक्रममा नगरपालिकाका १२ वटै वडाबाट छनोट भएका एक एक उत्कृष्ट जोडीलाई नगद रु १०,००० र प्रमाणपत्रसहित सम्मान गरिएको हो। यो कार्यक्रमलाई समाजमा नकारात्मक घटनालाई दण्डित गर्नुभन्दा सकारात्मक उदाहरणलाई पुरस्कृत गरेर प्रेरणा फैलाउने नौलो प्रयासका रुपमा लिइएको छ । सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार, नगरपालिकाको न्यायिक समितिमा पति पत्नीबीचको झगडा, सम्बन्धविच्छेद र लैंगिक हिंसासम्बन्धी मुद्दाहरू दिन प्रतिदिन बढ्दै गएका थिए। यस्ता समस्यालाई कानुनी उपचार र काउन्सिलिङबाट मात्र समाधान गर्न नसकिने देखेपछि समाजमा रहेका सफल र आदर्श दम्पतीलाई सम्मान गरेर अरूलाई प्रेरणा दिने सोचका साथ यो अभियान सुरु गरिएको हो। समाजमा परिवार विघटनका घटनाहरू बढिरहेका बेला, राम्रा जोडी पनि छन् र उनीहरूको जीवनशैली अनुकरणीय छ भन्ने सन्देश दिन हामीले ढुकुर जोडी को खोजी गरेका हौं, मेयर गुरागाईंले भन्नुभयो, राम्रो गर्नेलाई प्रोत्साहित गर्दा कमजोरी भएकाहरूमा पनि चेतना आउँछ भन्ने हाम्रो विश्वास हो।
‘ढुकुर जोडी’ बन्नका लागि यस्ता थिए १२ कडा मापदण्ड

यो सम्मानका लागि नगरपालिकाले विस्तृत र कडा मापदण्ड निर्धारण गरेको थियो, जसले पारिवारिक र सामाजिक दायित्वका हरेक पक्षलाई समेटेको थियो। ४८ वटा निवेदनहरू मध्येबाट उत्कृष्ट जोडी छनोट गर्न निम्न मापदण्डहरू पूरा गर्नुपर्ने थियो ।
विवाह भएको कम्तीमा १० वर्ष पूरा भएको।
श्रीमान्–श्रीमती दुवै नेपाली नागरिक र सुन्दरहरैँचाका स्थायी बासिन्दा हुनुपर्ने।
विवाह दर्ता र छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने।
छोराछोरीलाई विद्यालय भर्ना गरेको र उमेर पुगेकाको नागरिकता बनाएको हुनुपर्ने।
निरन्तर रूपमा संयुक्त परिवारमा बुवारआमा वा सासूरससुरासँग बसेको र उनीहरूको राम्रो हेरचाह गरेको हुनुपर्ने।
श्रीमान्–श्रीमतीबीच कुनै पनि न्यायिक निकाय वा समाजमा झगडाको उजुरी नपरेको।
विगत १० वर्षमा २ वर्षभन्दा बढी वैदेशिक रोजगारमा नगएको।
कसले पाए ‘ढुकुर जोडी’ सम्मान
वडा नं १, केशवराज काफ्ले र कञ्चन दाहाल
वडा नं २ सचिदानन्द साह र सन्ती कुमारी गुप्ता हलुवाई
वडा नं ३ ध्रुव नीरौला र अनु दाहाल
वडा नं ४ डिल्ली प्रसाद सिग्देल र अप्सरा सिग्देल
वडा नं ५ वीरेन्द्र कुमार कट्टेल र सीतादेवी कट्टेल
वडा नं ६ बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे
वडा नं ७ बलिराम चौधरी र फूलोदेवी चौधरी
वडा नं ८ खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने
वडा नं ९ योगराज कार्की र हिमकुमारी कार्की
वडा नं १० बौद्ध बहादुर दाहाल र कल्याणी खड्का दाहाल
वडा नं ११ वेदकुमार खवास र केसओती खवास
वडा नं १२ अमरबहादुर मगर र तारा कुमारी मगर
सम्मानित भएपछि सुन्दरहरैँचा ९ का योगराज कार्कीले खुसी व्यक्त गर्दै भन्नुभयो , यो सम्मान केवल हाम्रो लागि होइन, यो आदर्श समाज बनाउने अभियान हो। हामी सम्मानित हुँदा अरूलाई पनि राम्रोसँग परिवार अघि बढाउन प्रेरणा मिल्छ। उपमेयर अकली चौधरीका अनुसार यो कार्यक्रमले दम्पतीहरूलाई आफ्नो जीवनयात्रालाई पारिवारिक, सामाजिक र नैतिक उत्तरदायित्वसँग जोड्दै अगाडि बढ्न प्रोत्साहित गर्नेछ। साथै, सम्मानित हुने जोडीको तस्बिर एक वर्षसम्म सम्बन्धित वडा कार्यालयमा राखेर उनीहरूको योगदानको कदर गरिनेछ।