पक्की घर हुँदाहुँदै छाउगोठमा सुतेकी २८ वर्षीया कमलाको सर्पले डसेर मृत्यु

हाम्रो पेज

२९ असार २०८२, आईतवार ११:३९

कञ्चनपुर, २९ अषाढ । आफ्नै सुरक्षित र पक्की घर हुँदाहुँदै पनि समाजमा जरो गाडेको अन्धविश्वासका कारण घरबाहिरको जीर्ण छाउगोठमा सुत्न गएकी एक महिलाको सर्पको डसाइबाट अकालमा मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगाली गाउँकी २८ वर्षीया कमला आउजीको शनिबार राति विषालु सर्पले डसेर ज्यान गएको हो। स्थानीयका अनुसार, कमला आफ्नो घरबाट करिब डेढ सय मिटर टाढा रहेको अर्काको जीर्ण र असुरक्षित छाउगोठमा शनिबार राति एक्लै सुत्न गएकी थिइन्। राति करिब १० बजेतिर निदाइरहेकी उनलाई विषालु करेत सर्पले बाँया गालामा डस्यो। सर्पले डसेपछि कमला चिच्याउन थालिन्। उनको आवाज सुनेर परिवारका सदस्यहरू र छिमेकीहरू घटनास्थल पुग्दा उनी बेहोस अवस्थामा पुगिसकेकी थिइन्। परिवारले उनलाई बचाउन हतार हतार अटो रिक्सामा राखेर धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍यायो। तर, अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डीएसपी सागर बोहराले जानकारी दिनुभएको छ । कमलाको परिवार पहाडी जिल्ला अछामबाट बसाइँ सरेर यो गाउँमा आएको थियो। उनीहरूले आफ्नो पुरानो थातथलो त छाडे, तर ‘देउता रिसाउने’ र ‘परिवारलाई अनिष्ट हुने’ जस्ता अन्धविश्वासका कारण महिनावारी भएका महिलालाई घरबाट निकालेर छाउगोठमा राख्ने कुप्रथालाई छाड्न सकेनन्। स्थानीय सुचित्र शाहका अनुसार निगाली गाउँमा करिब १२० घरपरिवारको बसोबास छ र अधिकांश घरमा अझै पनि छाउगोठ छन्। उहाँले भन्नुभयो “पक्की घर हुँदाहुँदै पनि छाउगोठमा बस्दा यस्तो दुःखद घटना भयो। यसतर्फ सबैले सचेतना फैलाउन जरुरी छ।” कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले कमलालाई छाउगोठमै सुतेका बेला सर्पले डसेको पुष्टि गर्नुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाले छाउगोठ भत्काउने र छाउपडीविरुद्ध अभियान चलाउँदै आएको छ, तर समाजमा चेतनाको कमीले गर्दा यस्ता परम्पराको अन्त्य हुन सकेको छैन।” यसैगरी, वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन साउँदले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभयो, “आफ्नै सुरक्षित घर हुँदाहुँदै पनि छाउगोठमा सुतेकै कारण एक महिलाले अकालमा ज्यान गुमाउनु हाम्रो समाजका लागि लज्जाको विषय हो। कानुनले दण्डनीय बनाए पनि समाजको चेतना नबदलिएसम्म यस्ता घटना रोकिने देखिँदैन।” मृतक कमलाका तीन सन्तान छ । कमलाका श्रीमान् भने भारतमा रहेको बताइएको छ ।