विराटनगरमा एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

हाम्रो पेज

२७ असार २०८२, शुक्रबार १८:१२

विराटनगर, २७ अषाढ । विराटनगर महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्टताको शिखर चुम्दै ४ जीपीए ल्याउने प्रतिभाशाली विद्यार्थी र उनीहरूलाई उत्पादन गर्ने विद्यालयहरूलाई भव्य कार्यक्रमबीच सम्मान गरेको छ। शुक्रबार महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा सामुदायिक र संस्थागत दुवैतर्फका उत्कृष्ट विद्यार्थी र विद्यालयका प्रतिनिधिहरूको मुहारमा खुसी र गर्वको भाव झल्किन्थ्यो। महानगर क्षेत्रभित्रका ७ वटा विद्यालयका १६ जना विद्यार्थीले यो ऐतिहासिक सफलता हासिल गरेका हुन्। सम्मानित हुने विद्यार्थीहरूमा विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह रहेका छन् । यस्तै आदर्श माविबाट प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई, श्रेया शर्मा ,एभरेष्टबाट कृति गोयल, प्रेम खतिवडा, पोखरियाबाट रागिनी न्यौपाने, सगरमाथाबाट सुशोभित न्यौपाने, कान्तिपुरबाट आयुषा कार्की र जेम्स स्कुलबाट श्रीजी पोखरेल रहेका छन् । यी विद्यार्थीहरूको सफलतामा प्रत्यक्ष योगदान पुर्‍याउने विद्यालयका प्राचार्य तथा प्रधानाध्यापकहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा विकेभिएमका रविन दाहाल, आदर्श माविका सन्तोष पोखरेल, एभरेष्टका टीकाराम पुरी र टीएन भण्डारी, पोखरियाका महेश गौतम, सगरमाथाका त्रिलोचन गौतम, कान्तिपुरका भेषराज नेपाल र जेम्सका पंकज खड्का छन् । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रदायल ढुङ्गेल लगायतका अतिथिहरूले विद्यार्थी र शिक्षासेवीहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा महानगरको एसईई नतिजाको समग्र मूल्यांकन पनि प्रस्तुत गरिएको थियो। यस वर्ष महानगरका ९७ वटा विद्यालय २५ सामुदायिक र ७२ संस्थागतबाट ४,५२९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। समग्र उत्तीर्ण दर ३,६९० जना विद्यार्थी ग्रेडिङमा उत्तीर्ण० सफल भएका छन् । यसमा उत्कृष्ट नतिजा १,२२८ जना विद्यार्थीले ३ दशलमव ६ भन्दा माथि जीपीए ल्याउन सफल भएका छन् । यस्तै ९७ मध्ये २८ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । परीक्षामा ८३९ जना विद्यार्थी ननग्रेडिङमा परे भने २ वटा विद्यालयको नतिजा शून्य रहेको थियो । मोरङ जिल्लाभरि ४ जीपीए ल्याउने १८ जना विद्यार्थीमध्ये १६ जना विराटनगर महानगरपालिकाभित्रैबाटै रहेका छन् । कार्यक्रममा बोल्दै मेयर कोइरालाले विद्यार्थीहरूको सफलताले महानगरको शिर उच्च भएको बताउनुभयो। सम्मानित विद्यार्थीहरूको तर्फबाट बोल्दै रागिनी न्यौपानेले महानगरको सम्मानले थप हौसला मिलेको बताइन्। महानगरपालिकाले विगत ३ वर्षदेखि एसईईमा सर्वोत्तम नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने परम्परा बसालेको छ । विराटनगर महानगरभित्र हाल १९७ विद्यालयहरूमा करिब ८० हजार विद्यार्थी अध्ययनरत छन्, र यो सम्मान कार्यक्रमले उनीहरू सबैका लागि प्रेरणाको स्रोतको रूपमा काम गर्ने विश्वास लिइएको छ।