पत्रकार दिलभूषण पाठकविरुद्ध मुद्दा दर्ता, ५ वर्ष कैद र एकलाख रुपैयाँ जरिवानाको माग

हाम्रो पेज

१६ असार २०८२, सोमबार १९:१७

काठमाडौं अषाढ १६ I पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार उनीविरुद्ध पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको चरित्रहत्या गरेको अभियोगमा अभियोगपत्र दायर गरेको हो।
साइबर ब्युरोमा साइबर ब्युरो ५९ नामक परिवर्तित नामबाट परेको जाहेरीका आधारमा यो मुद्दा अघि बढाइएको हो। अभियोगपत्र अनुसार, पत्रकार पाठकले आफ्नो कार्यक्रममा निवेदक जयवीर देउवा को तस्बिर प्रयोग गरी ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा सामग्री प्रकाशन गर्नुभएको थियो । उक्त सामग्रीमा ‘काठमाडौंस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको र दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएको तथा उक्त बिजनेस क्यानडासम्म फैलिएको’ उल्लेख थियो। यो सामग्रीले आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले साइबर ब्युरोमा उजुरी दिएको थियो।


सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने अन्तर्गत पाठकलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ । उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, सफ्टवेयर र अन्य उपकरण जफत गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति भराउनुपर्ने माग गरिएको छ । यस प्रकरणमा प्रहरीले पत्रकार पाठकको बयान भने लिएको छैन। यसअघि साइबर ब्युरोले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाउने तयारी गरे पनि उच्च अदालत पाटनले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सोही अदालती आदेशका कारण उनको बयान नलिईकनै अभियोगपत्र अदालतमा पेस गरिएको हो।