search logo
NOTIFICATIONS

संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै, राप्रपाले भन्यो नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनु

हाम्रो पेज

१४ असार २०८२, शनिबार १४:२४
काठमाडौं, १४ अषाढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायमै राखेका छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्रीले मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरुमाथि लुट मच्चाएको आरोप लगाउनु भएको छ।
आज प्रतिनिधि सभाको बैठकमा उनले बीपी कोइरालाको भनाइको प्रसंग जोड्दै नेताको अन्याय सहेर बस्ने चरम अवसरवादीहरु र दास हुने भन्दै सत्ता पक्षलाई कुन वर्गमा परेको भनेर पनि प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरु किन लुटिँदैछन् ? तपाईंसँग यसको जवाफ छ रु अर्को पनि एउटा सुझाव छ, बीपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् । म सोध्न चाहन्छु तपाईंहरु कुन वर्गमा पर्नुहुन्छ ? यस्तै, उहाँले गृहमन्त्रीले आफू उम्किने समिति बनाएकोमा बधाई भन्दै धेरे समय उम्केर बस्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले त गृहमन्त्रीलाई अलिकति सोझो मानेको थिए । उहाँ त धेरै बाठो हुनुहुँदोरहेछ । उहाँले यस्तो समिति बनाउनु भयो कि त्यो समितिबाट उहाँलाई फुत्किनलाई धेरै सजिलो भयो । र कमाई बचाउनको लागि पनि धेरै सजिलो भयो । गृहमन्त्रीज्यू धेरै फूर्ती नदेखाउनु । तपाईंले भिजिट भिसाको नाममा जुन पैसा असुली गरिराख्नु भएको छ । नेपाली जनतालाई बेचिराख्नु भएको छ । के यो नैतिकताले दिन्छ । आफू उम्किने समिति बनाउनु भएको छ तपाईंलाई बधाई भन्न चाहन्छु । तर उम्केर बस्न सक्नु हुँदैन्। तपाईंसँग नैतिकता छ भने राजीनामा दिनुपर्छ ।’