मुगुमा करेन्ट लागेर १० खच्चड मरे, मालिक भन्छन् बर्बाद भएँ

हाम्रो पेज

९ असार २०८२, सोमबार १६:१६
मुगु, ९ अषाढ I नेपाल विद्युत प्राधिकरण, गमगाढ वितरण केन्द्रको असुरक्षित र अव्यवस्थित विद्युत प्रणालीका कारण मुगुमा एकैसाथ १० वटा खच्चड करेन्ट लागेर मरेका छन्।

छायाँनाथ रारा नगरपालिका ११ स्थित कुसा टाउका भन्ने स्थानमा कम क्षमताको ट्रान्सफर्मरबाट जमिनमा करेन्ट चुहिँदा आइतबार दिउँसो करिब ३ बजे यो दुःखद घटना भएको हो। जिल्ला सदरमुकाम गमगढीबाट मुगुम कार्मारोङ गाउँपालिकातर्फ सामान ढुवानी गरिरहेका खच्चडहरू पानी परिरहेको सडक पार गर्ने क्रममा करेन्टको चपेटामा परेका थिए। पानी परिरहेको थियो, सडक छेउको ट्रान्सफर्मरबाट करेन्ट बगेको हामीलाई थाहै भएन,आँखाबाट आँसु झार्दै खच्चड धनी छायाँनाथ रारा १ का कन्नबहादुर मल्लले पीडा पोखे, म चप्पल लगाएकोले सामान्य झट्का मात्र लाग्यो र बाँचे, तर मेरो कमाइ खाने भाँडो नै गुम्यो, म त बर्बाद भएँ। अब कसरी बाँच्ने एउटै खच्चडको डेढ लाखभन्दा बढी पर्छ। उनले प्राधिकरणले सुरक्षित पोल, उचित क्षमताको ट्रान्सफर्मर र व्यवस्थित अर्थिङ नगरिदिएका कारण आफ्नो रोजीरोटी खोसिएको भन्दै यसको सम्पूर्ण क्षतिपूर्ति प्राधिकरणले नै व्यहोर्नुपर्ने माग गरेका छन्। यो घटना प्राधिकरणको लापरवाहीको पहिलो नतिजा भने होइन। सोही स्थानमा दुई दिनअघि, शुक्रबार मात्रै करेन्ट लागेर वडा नम्बर १२, कम्फा गाउँका खड्क बहादुर बुढाको एउटा भैंसीले पनि ज्यान गुमाएको थियो। स्थानीयले बारम्बारको घटनाले प्राधिकरणको चरम लापरवाही पुष्टि भएको बताएका छन्।
घटनामा कर्णबहादुर मल्लका ४, सोही नगरपालिका वडा नम्बर १० का जग्गी बढुवालका ३ र पृथ्वीबहादुर ऐडीका ३ गरी कुल १० वटा खच्चड मरेका हुन्। घटनाबारे गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले शुक्रबारको घटनापछि समस्या समाधान गरिसकेको दाबी गरेका छन् । ऐडीले पीडित परिवारको रोजीरोटी नै खोसिएकोमा दुःख व्यक्त गर्दै नियमअनुसार क्षतिपूर्तिका लागि प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन्।