धरानमा तनावः ‘श्रमदान’ कि ‘भुक्तानी’को खेल ? मेयर-उपमेयरबीचको विवाद उग्र

हाम्रो पेज

३ असार २०८२, मंगलवार २१:२७
धरान, ३ अषाढ I धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवादले उग्र रूप लिएको छ, जसले पूरै धरानलाई तनावग्रस्त बनाएको छ। ‘जनश्रमदान’ मार्फत गरिएको कामको भुक्तानीका लागि ‘डोर हाजिरी’ सहितको बिल पेस भएपछि सुरु भएको यो विवाद अहिले हातपातको प्रयास, नाराबाजी र समर्थकहरूबीचको झडपको अवस्थामा पुगेको छ।
विवादको केन्द्रमा धरान १६ को सर्दुखोला नियन्त्रणका लागि गरिएको काम रहेको छ। मेयर साम्पाङ पक्षले ‘जनश्रमदान’ मार्फत करिब १७ लाख ४० हजार बराबरको काम भएको दाबी गर्दै नगरपालिकाबाट ७ लाख ४१ हजार रुपैयाँ भुक्तानी माग गरेको थियो। तर, उपमेयर बेघाले ‘श्रमदान’ भनिएको काममा १५ जनाको ‘डोर हाजिरी’ बनाएर १ लाख ४८ हजार रुपैयाँको बिल पेस गरिनुलाई कानुनी र नैतिक रूपमा गलत भन्दै भुक्तानी रोकिदिनु भएको छ।
मेयर साम्पाङको तर्क छ, “बस्ती जोगाउन आपत्कालीन अवस्थामा जनताको घर बचाउन काम गरिएको हो। १७ लाखको काम श्रमदानमार्फत ७ लाखमा सकिएको छ। तर, उपमेयरले विकासमा अवरोध गरिरहनुभएको छ।” उहाँले डोर हाजिरी केवल रेकर्डका लागि मात्र राखिएको र विरोधीहरूले अफवाह फैलाएको दाबी गर्नुभएको छ । उपमेयर बेघाका अनुशार, पहिले नै सकिएको कामलाई कानुनविपरीत निकासाका लागि दबाब दिइयो। श्रमदानको नाममा समर्थकलाई डोर हाजिरीमा काम लगाएर भुक्तानी माग्ने कामको म समर्थन गर्न सक्दिनँ, उहाँले भन्नुभये । उहाँले अनुगमन प्रतिवेदन दिन अस्वीकार गर्नुभएको छ । किनकि भुक्तानी प्रक्रियामा उपमेयरको अनुगमन प्रतिवेदन अनिवार्य हुन्छ।
यो विवादले आज उपमहानगरपालिका परिसरमा तनावपूर्ण स्थिति सिर्जना गर्‍यो। मेयर साम्पाङका समर्थकहरूले उपमेयर बेघालाई घेराउ गर्ने प्रयास गरेपछि र सामाजिक सञ्जालमा ‘हार्दिक श्रद्धाञ्जली’ जस्ता आपत्तिजनक पोस्ट गरेपछि उपमेयर सम्बद्ध माओवादी कार्यकर्ताहरू पनि आक्रोशित बने।
दुवै पक्षका समर्थकहरू आमनेसामने भएर नाराबाजी गर्न थालेपछि स्थिति झडप उन्मुख बनेको थियो। मेयर पक्षले ‘विकासविरोधी उपमेयर चाहिँदैन’ भन्दै नारा लगायो भने माओवादी कार्यकर्ताले ‘हर्क साम्पाङ मुर्दावाद, गैरकानुनी काममा राज्यको दोहन गर्न पाइँदैन’ भन्दै प्रतिवाद गरे। स्थिति नियन्त्रणबाहिर जान नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
मेयरउपमेयरबीचको यो द्वन्द्वले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई समेत प्रभावित पारेको छ। आज दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकसमेत यो विवादका कारण बस्न सकेन। मेयर साम्पाङको ‘जनश्रमदान’ अभियानले देश विदेशबाट समर्थन र आर्थिक सहयोग पाएको थियो। तर, यही अभियानअन्तर्गत भएका काममा भुक्तानीको विवाद र डोर हाजिरीको प्रसङ्ग बाहिरिएपछि उहाँको अभियानको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न उठेको छ। यो घटनाले धरानको विकास मात्र होइन, मेयर साम्पाङले कमाएको जनविश्वासमाथि पनि ठूलो धक्का पुऱ्याएको छ। यो विवादले धरानको राजनीतिक भविष्यलाई थप अनिश्चित र जटिल बनाएको छ।