राष्ट्रिय हितका पक्षमा सबै एकजुट हुनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

हाम्रो पेज

२८ जेष्ठ २०८२, बुधबार १७:४६
विराटनगर, २८ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय सुरक्षा र हितका पक्षमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा आज नेपाली सेनाका हाइ कमान्डेड, म्यानेजमेन्ट कोर्सको तालिम लिइरहनु भएका उच्च पदस्थ सैनिक अधिकृतसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री‌ कार्कीले राष्ट्रिय हितका पक्षमा सबै एकजुट भए विकास छिटो हुने र सुरक्षा चुनौती पनि कम हुने बताउनुभयो।

विकास र सुरक्षा सँगसँगै लैजान सके समृद्धि हासिल गर्न सकिने बताउँदै मुख्यमन्त्री कार्कीले विकास र सुरक्षालाई समन्वयका आधारमा अगाडि बढाउनुपर्ने बताउनुभयो। मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापना भएपछि विकासका काम उल्लेख्य भएको चर्चा गर्दै उहाँले यसलाई प्रचारप्रसार गर्न नसक्दा आलोचना भएको धारणा राख्नुभयो। उहाँले प्रदेशले अरु तहका सरकारभन्दा बढी काम गरेको र त्यो क्षमता‌ बढाउँदै लगेको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष, पदमार्ग निर्माण र कृषिका नयाँ खाले कार्यक्रमले प्रदेशमा समृद्धि हासिल हुने चर्चा गर्दै यसले राष्ट्रिय पुँजीको विकास गर्ने बताउनुभयो । लगानी सम्मेलन जस्तो महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेर देशकै ध्यान कोशीमा आकर्षित गरेको बताउँदै उहाँले आगामी वर्ष चियाको प्रवर्धन गर्नका लागि चिया सम्मेलन गर्ने जानकारी दिनुभयो।

अन्तरक्रिया कार्यक्रममा नेपाली सेनाले आयोजना गर्ने सबैभन्दा माथिल्लो तहको तालिम लिइरहनु भएका उच्च पदस्थ सैनिक अधिकारीहरु सहभागी हुनुहुन्थ्यो। उहाँहरुले प्रदेशको सुरक्षा चुनौती, संघीयता कार्यान्वयन, विकास निर्माण र अन्य विविध विषयमा अन्तरक्रिया गर्नुभएको थियो। कार्यक्रममा नेपाली सैनिक वार कलेज का उपरथी सन्तोष बल्लभ पौडेलले तालिम र यसका विविध गतिविधि बारेमा प्रकाश पार्नुभएको थियो।