search logo
NOTIFICATIONS

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने

हाम्रो पेज

१८ आश्विन २०८३, आईतवार ०७:३२

काठमाडौं, १८ आश्विन । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन आयोजना हुन लागेको हो। महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे खुलामञ्चमा हुनेछ। उद्घाटन समारोहपछि सोमबार र मंगलबार अर्थात् १९ र २० असोजमा बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुने कांग्रेसले जनाएको छ।

महाधिवेशनको निर्वाचन कार्यक्रम २१ र २२ असोजका लागि निर्धारण गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार सम्पन्न भएको छ। प्रतिनिधिका लागि नाम दर्ता शुल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी गराउनुभयो। नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला उपलब्ध गराएको छ। उक्त झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना तथा खाजा–नास्ताका लागि कुपन र प्रतिनिधि परिचयपत्र समावेश गरिएको छ।

सात हजार पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता

कांग्रेसका अनुसार महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। प्रवक्ता चालिसेका अनुसार यो नेपाली कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो महाधिवेशन हुनेछ। शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले यसपटकको महाधिवेशनलाई केवल नेतृत्व चयनमा सीमित नराखी नीति चयनको अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिने उल्लेख गर्नुभयो। ‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौँ,’ उहाँले भन्नुभयो।

रास्वपासहित विभिन्न राजनीतिक दललाई निम्तो

महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सहित प्रतिपक्षमा रहेका नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरेको छ। त्यसैगरी छिमेकी मुलुक भारत र चीनसहित अमेरिका तथा आधा दर्जनभन्दा बढी मुलुकबाट पाहुना आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहको मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति भने अपेक्षाकृत न्यून हुन सक्ने कांग्रेसको भनाइ छ।

सोमबारदेखि बन्दसत्र

आइतबारको उद्घाटन समारोहपछि सोमबारदेखि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा पार्टीको आगामी नीति तथा कार्यक्रमसँगै समसामयिक प्रतिवेदनहरू प्रस्तुत गरिने प्रवक्ता चालिसेले जानकारी गराउनुभयो। सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्नुहुनेछ।

प्रतिनिधिका लागि होटल बुकिङ, खर्च भने आफैँले बेहोर्नुपर्ने

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटलमा आवासको व्यवस्था मिलाइएको छ। आवास व्यवस्थापन समितिका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकलाई बस्न मिल्ने गरी काठमाडौंका विभिन्न क्षेत्रमा होटल बुकिङ गरिएको छ। कोशी र मधेश प्रदेशबाट आउने प्रतिनिधिका लागि गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेल, गण्डकी तथा लुम्बिनी प्रदेशका लागि बालाजु र नयाँ बसपार्क तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि सुन्धारा र कलङ्की क्षेत्रमा आवासको व्यवस्था गरिएको छ। विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिहरूका लागि लाजिम्पाट र ठमेल क्षेत्रमा आवासको प्रबन्ध गरिएको छ। जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवास तथा होटलको खर्च भने आफैँले बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट आउने पाहुनाहरूको आवास खर्च भने पार्टीले व्यहोर्नेछ। महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा पार्टीकै तर्फबाट व्यवस्था गरिएको प्रवक्ता चालिसेले जानकारी गराउनुभयो।

३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गरिएको छ। महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ पाँचवटा स्टलसहित हेल्थ डेस्क सञ्चालन हुनेछ। हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। दुई सिफ्टमा सञ्चालन हुने डेस्कमा चिकित्सक, पारामेडिक्स तथा नर्सहरू खटिने व्यवस्था गरिएको छ। महाधिवेशनस्थलमै रक्तचाप र रक्तशर्करा परीक्षणसँगै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइने डा। केसीले जानकारी गराउनुभयो। आकस्मिक अवस्थामा अस्पताल लैजानुपर्ने भए वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बसुन्धरास्थित बीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ। त्यसका लागि महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन्। रातिको समयमा समेत स्वास्थ्य सेवा आवश्यक परे ‘अन कल’ ड्युटीको व्यवस्था गरिएको छ। प्रतिनिधिहरू होटलमा रहेको अवस्थामा स्वास्थ्य समस्या देखिए होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने प्रबन्धसमेत मिलाइएको डा। केसीले जानकारी गराउनुभयो।

धरहरादेखि दरबारमार्गसम्म पार्किङ व्यवस्था

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि थप सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाउने विषयमा ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले जानकारी गराउनुभयो।