search logo
NOTIFICATIONS

कर्मचारीसहित सेना, प्रहरीको बढेको तलब कार्यान्वयनमा, कसको कति छ तलब ?

हाम्रो पेज

२१ श्रावण २०८३, बिहीबार १२:३९

सरकारी कर्मचारीमा कसको तलब कति ? मुख्यसचिवको तलब साढे ९० हजार

काठमाडौं, २१ श्रावण । अर्थ मन्त्रालयले यही साउन १ देखि लागु हुने गरी मुख्यसचिवसहित सरकारी कर्मचारीहरूको नयाँ तलबमान र सुविधा कायम गरेको छ। मन्त्रालयले साउन १ देखि पाउने गरी सरकारी कर्मचारीहरूको तलब, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता तोकेको हो। मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी निवृत्तभरण प्रयोजनको नयाँ तलबमान एवम् एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता रकम कायम गरेको छ। नयाँ तलबमानअनुसार मुख्यसचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकको सुरु तलबमान ८४ हजार ९३२ पुगेको छ। ग्रेड संख्या २ अनुसार प्रति ग्रेड २ हजार ८३१ रहँदा मुख्यसचिवको जम्मा तलब मासिक ९० हजार ५९४ रुपैयाँ पुगेको छ। सचिवको सुरु तलब ७९ हजार २९० पुगेको छ। ग्रेड संख्या २ अनुसार प्रति ग्रेड २ हजार ६४३ रहँदा सचिवको मासिक तलब ८४ हजार ५७६ रुपैयाँ तोकिएको छ। पेन्सन प्रयोजनका लागि अ सचिवको मासिक रकम ६६ हजार ५३९ रुपैयाँ तोकिएको छ। सहसचिवको सुरु तलबमान ६२ हजार ४६६ रुपैयाँ पुगेको छ। ग्रेड संख्या ७ रहँदा ग्रेड दर २ हजार ८२ तोकिएको छ। यसअनुसार सहसचिवको जम्मा तलब ७७ हजार ४० रुपैयाँ पुगेको छ। उपसचिवको सुरुआती तलब ५३ हजार ६११ पुगेको छ।

प्रधान सेनापतिदेखि सिपाहीसम्म महिनामा कसले कति पाउँछन् ?
नयाँ तलबमानअनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको मासिक तलब स्केल ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। प्रधान सेनापतिको सुरुवाती तलब ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थप भएपछि यो रकम कायम भएको हो। त्यस्तै, रथीको कुल तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ। सैनिक अधिकारीहरूको तहगत तलब वृद्धिको विवरणअनुसार सहायक रथीको ७८ हजार २ सय २० रुपैयाँ, महासेनानीको ७२ हजार ८ सय ७६ रुपैयाँ र प्रमुख सेनानीको ६९ हजार ९ रुपैयाँ पुगेको छ। सेनानी दर्जाका अधिकारीको मासिक तलब ६७ हजार ९ सय ७ रुपैयाँ कायम हुँदा सहसेनानीले ६२ हजार ३ सय १५ रुपैयाँ र उप–सेनानीले ५९ हजार ५ सय ३७ रुपैयाँ बुझ्नेछन्। सहायक सेनानीको तलब भने ४८ हजार ५८ रुपैयाँ तोकिएको छ।

जुनियर कमिसन्ड अफिसर जेसीओ तर्फ प्रमुख सुवेदारको मासिक तलब ४९ हजार ६ सय ७ रुपैयाँ पुगेको छ भने सुवेदारको ४७ हजार १ सय १४ रुपैयाँ र जमदारको ४३ हजार ३ सय ७२ रुपैयाँ कायम भएको छ। तल्लो तहका सैनिक कर्मचारीहरूमा हुद्दाको ३७ हजार ६ सय ४८ रुपैयाँ, अमलदारको ३७ हजार ४ सय ५७ रुपैयाँ र प्यूठको ३७ हजार १ सय १३ रुपैयाँ तलब कायम गरिएको छ। नेपाली सेनाको आधारभूत पद सिपाहीको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ। त्यस्तै, रिक्रुटको २७ हजार १ सय ७२ रुपैयाँ र फलोअर्स ९विभिन्न श्रेणी० को तलब दर्जाअनुसार २८ हजारदेखि ४० हजार रुपैयाँको हाराहारीमा रहेको छ। विमान सम्भार समूह तर्फका प्राविधिक सैनिकहरूको तलब पनि सोही अनुपातमा केही बढी कायम गरिएको छ, जसमा पाइलट उपरथीको तलब ९० हजार ५ सय ९ रुपैयाँसम्म पुगेको छ। सरकारले साउन १ गतेदेखि लागू हुने गरी ग्रेड रकम र वृद्धिपश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत दिने निर्णय गरेको छ।