हाम्रो पेज

काठमाडौँ, असार ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबिच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उद्घाटन समारोहमा मन्तव्य राख्दै सभापति लामिछानेले नयाँ पुस्ताका राजनीतिज्ञ ठुलो हृदय बोकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “हामीलाई अब आपसमा प्रतिस्पर्धा गरेर समय खेर फाल्ने छुट छैन,” उहाँले भन्नुभयो, “हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी स्वार्थ हुन्, ती यहीँ र अहिले नै सकिनुपर्छ । हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरू इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्छ ।” उहाँले रास्वपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो ।

उहाँको सम्बोधनको पूर्ण पाठ यस्तो छ, राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई निलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्दछु। परिवर्तनको सपना देख्ने र त्यसलाई साकार पार्ने आँट अनि साहस मलाई यही चितवनको माटोले दिएको हो। म बाट हामी बन्ने प्रेरणा पनि मलाई यही भूमिबाट प्राप्त भयो। त्यसैले, यो पवित्र देवभूमि चितवनलाई नमन गर्दै यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्दछु। उपस्थित आदरणीय महानुभावहरू, रास्वपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनीतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्दै यहाँहरूको उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दछु। आज हामी जहाँ आइपुगेका छौँ, यो यात्रा यहाँसम्म ल्याउन धेरैको त्याग र बलिदान परेको छ। विभिन्न कालखण्डमा भएका परिवर्तन र बलिदानीकै जगमा आज हामी उभिएका छौँ। म ती तमाम सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु, जसले देशका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभयो। साथै, शरीरभरि छर्रा र घाउ बोकेर पनि देश परिवर्तनको हुटहुटीका साथ राजनीतिमा सक्रिय रहनुभएका घाइते योद्धाहरूलाई पनि सम्मानपूर्वक स्मरण गर्दछु।

रास्वपा आज एउटा यस्तो साझा मञ्च बनेको छ, जहाँ अधिकांश गैर(राजनीतिक पृष्ठभूमिबाट आउनुभएका व्यक्तित्वहरू हुनुहुन्छ। यो हाम्रो रहर नभई बाध्यता थियो। हामीले पटकपटक आफ्ना कुरा राख्यौँ, तर सुनिएन। टेलिभिजनको पर्दाबाट भन्यौँ, सुनिएनस राजनीतिको मैदानमा आउँदा भन्यौँ, सुनिएनस यहाँसम्म कि जेलको कालकोठरीबाट भन्दा पनि सुनिएन।आज चितवनमा केही गर्मी छ। तर, ठिक एक वर्षअघि पार्टी स्थापना दिवस मनाउँदै गर्दा मसँग तपाईँहरूसँग संवाद गर्ने कुनै माध्यम थिएन। भैरहवामा योभन्दा बढी गर्मी थियो। अरूका लागि जेल एउटा ठुलो हाता हुन्थ्यो होला, तर मेरो लागि त एउटा साँघुरो कोठा ९गोलघर० नै जेल बनाएर सरकारले मलाई विशेष सुविधाुका साथ राखेको थियो।
त्यसबेला मैले तपाईँहरूलाई धेरै सम्झेको थिएँ। आज म तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु कि मेरो त्यो आवाज सुनियो। मलाई गत वर्ष भैरहवा कारागारबाट लेखेको एउटा सन्देशको याद आउँछ। मैले भनेको थिएँ— एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोस्नेछन् र त्यहाँ हतकडी लगाउनेछन्। आज परिस्थिति बदलिएको छ। यो बदलिएको परिस्थितिले हामीलाई देशको शक्तिशाली पार्टी बनाएको छ। तर, शक्तिशाली हुनु भनेको दम्भ गर्ने वा प्रतिशोध साँध्ने लाइसेन्स पाउनु होइन भन्ने कुरा रास्वपालाई राम्रोसँग थाहा छ।
रास्वपा प्रतिशोध र दम्भभन्दा माथि उठेर नागरिक जिम्मेवारी पूरा गर्ने अदम्य जनमतका साथ उपस्थित भएको छ। म मञ्चमा आसिन नेपाली राजनीतिका शीर्ष नेतृत्वहरूलाई साक्षी राखेर भन्न चाहन्छु— निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा सुरक्षित छ।लोकतन्त्रका स्थायी मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार र समावेशी समाजका उपहारहरू हामीलाई अघिल्लो पुस्ता र तपाईँहरू जस्ता नेतृत्वले नै दिनुभएको हो। हामी यी उपलब्धिहरूको जगेर्ना गर्नेछौँ र यसको परिधिभन्दा बाहिर जाने छैनौँ। यसअघिका आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा छैन र त्यस्तो कदम हामी कदापि चाल्ने छैनौँ।
म यहाँहरूलाई एउटा सानो अनुरोध गर्न चाहन्छु— राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर पुग्दैन, सबै दलहरू सही बाटोमा हुनुपर्छ। विशेषगरी दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक जटिलताहरू उहाँहरूको मात्र नभई देशकै समस्या बन्न सक्छन्। मेरो शुभकामना छ, आफ्ना आन्तरिक समस्याहरू सुल्झाउनुहोस्। हामी अब प्रतिस्पर्धी मात्र होइन, सहयात्री बन्नुपर्छ। हाम्रा व्यक्तिगत वैमनस्यताहरूलाई त्यागेर फराकिलो हृदयका साथ अगाडि बढ्नुपर्ने बेला आएको छ। हामीले एक(अर्कालाई भन्दा पनि इतिहासलाई जवाफ दिनुपर्नेछ। देशको हितका लागि हाम्रा निजी स्वार्थ र दम्भहरूलाई त्याग्दै सहकार्यको बाटो रोज्नु अनिवार्य छ।
यस ऐतिहासिक अवसरमा म रास्वपा परिवारका साथीहरूलाई एउटा कुरा स्मरण गराउन चाहन्छु। जलेश्वर बैठकमा मैले भनेको थिएँ— रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, अरू कसैको तागतले यसलाई लडाउन सक्दैन।आज गुट र उपगुटको राजनीति गर्ने प्रचलन कतै हामीभित्र पनि नपसोस्। यदि हामीले गुटबन्दीको बीउ रोप्यौँ भने त्यसले भोलि विषालु फल दिनेछ। वरिष्ठ नेताज्यूले भन्नुभएझैँ, त्यस्तो अवस्था आएमा हामीले त्यो वृक्ष नै काट्नुपर्ने हुन सक्छ। हामी अहिले सही समयमा छौँ। कस्तो बीउ रोप्ने भन्ने निर्णय हाम्रै हातमा छ। यदि हामी गुटबन्दीबाट मुक्त भएर अगाडि बढ्यौँ भने रास्वपालाई लडाउन सक्ने कुनै शक्ति हुनेछैन। त्याग र बलिदान अरूले गर्दा खुसी हुने तर आफूले गर्नुपर्दा दुःख मान्ने प्रवृत्तिबाट हामी सचेत रहनुपर्छ। यस महाधिवेशनले हामीबिचका कुनै पनि वैमनस्यतालाई अन्त्य गर्नेछ भन्ने मेरो विश्वास छ।
रास्वपाको दुई(तिहाइको सरकार बनेको छ। पार्टी यसप्रति पूर्ण प्रतिबद्ध र सचेत छ। हामी लोकतन्त्रका आधारभूत मान्यताबाट विचलित हुने छैनौँ। विचार, सिद्धान्त र आदर्शलाई स्पष्ट पार्दै लैजाने हाम्रो निरन्तरको प्रक्रिया हो। मलाई विश्वास छ, अब रास्वपाका दस्ताबेजहरूलाई विद्वत् समूहले गहन रूपमा अध्ययन र विश्लेषण गर्नेछन्। हाम्रा साथीहरूले स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ।सरकार जुन आशा र भरोसामा उभिएको छ, त्यसमा खरो उत्रिने प्रयास हुनेछ। हामीलाई लडाउने वा फुटाउने अनेकौँ प्रयास होलान्, तर हामीले जनता र इतिहासलाई साक्षी राखेर जे सहमति गरेका छौँ, त्यसलाई इमानदारिताका साथ पालना गर्ने प्रण गर्दछु।
सरकार सञ्चालनका लागि रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब गोल गर्ने जिम्मा बालेनजीकै हो। उहाँले यसलाई निरन्तरता दिइरहनुभएको छ। झुक्किएर कतै त्यो बल मतिर आएछ भने पनि म त्यसलाई उहाँकै खुट्टामा पास गरिदिनेछु। यहाँ चुक्ली लगाउने र मुख मिठ्याउनेहरू धेरै छन्, तर म उनीहरूलाई होइन, इतिहासलाई जवाफ दिन उभिएको हुँ। भोलि हाम्रा सन्ततिले सोध्नेछन्— ुइतिहासले यति ठुलो अवसर दिँदा तिमीहरूले किन गुमायौरुु हामी त्यो प्रश्नको सामना इमानदारिताका साथ गर्न चाहन्छौँ। यो अवसर हामी आफ्ना लागि होइन, आउने पुस्ताका लागि सदुपयोग गर्न चाहन्छौँ।
पार्टीभित्र समस्याहरू आउन सक्छन्। हाम्रो पार्टी विभिन्न पृष्ठभूमि र दलबाट आउनुभएका साथीहरूको सम्मिश्रण हो। राजनीतिक आबद्धता तत्कालको लाभका लागि हुनु हुँदैन। आज रास्वपामा लहर छ, पद पाइएला वा चुनाव जितिएला भन्ने लोभ पनि होला। तर, यदि कुनै दिन पार्टीले आठ दश वर्ष विद्रोह गर्नुपर्छ भन्यो भने के हामी तयार छौँरु हामी छौँ त भन्छौँ, तर आजैदेखि पद र गुटका लागि लाग्यौँ भने इतिहासले धिक्कार्नेछ।मलाई व्यक्तिगत रूपमा केही चाहिएको छैन। संस्थापक सभापतिका नाताले मेरो एउटै कामना छ— एउटा सानो पदका लागि आपसमा झगडा गरेको र षडयन्त्रको राजनीति गरेको दृश्य कम्तीमा म बाँचुन्जेल हेर्नु नपरोस्। जसले जिते पनि आखिर घण्टी नै जित्ने हो, रास्वपाले नै जित्ने हो। आफ्नालाई जिताउनेु भन्दा पनि जितेकाहरू हाम्रा हुन् भन्ने भावना राख्यौँ भने हामी विशाल रास्वपा बन्नेछौँ। विभिन्न दलबाट आउनुभएका साथीहरूको त्यागको सम्मान गर्दै, बदलिएको परिस्थितिमा हामी सबैको साझा प्रतिबद्धता हुनुपर्ने कुरा स्पष्ट पार्न चाहन्छु।
अन्त्यमा, पार्टी स्थापना दिवसका दिन मेरो जीवनसङ्गिनीले भन्नुभएको थियो— म घर चलाउँछु, तिमी देश सम्हाल। यो चार वर्षको यात्रामा देश चलाउनभन्दा गाह्रो घर चलाएर मेरो हरेक सङ्घर्षमा मलाई साहस दिने र कहिल्यै नझुक्ने मेरो अर्धाङ्गिनीलाई म हृदयदेखि धन्यवाद दिन्छु। साथै, मृत्युशय्याबाट फर्कनुभएकी मेरी ६४ वर्षीया दिदीको एउटा कुरा सम्झन्छु। जब राज्यले ममाथि ज्यादती गरिरहेको थियो, छिमेकीले उहाँलाई ुतिम्रो भाइलाई त मार्छन् कि क्या होु भन्दा दिदीले भन्नुभएछ— मारेछन् भने मेरो भाइ सहिद हुन्छ, चिन्ता नगर। मलाई आँट र साहस दिने मेरो परिवार र मलाई विश्वास गर्ने रास्वपाका सम्पूर्ण सदस्यहरूलाई यो पार्टी यहाँसम्म पुर्याएकोमा सम्पूर्ण श्रेय दिँदै पुनः एकपटक स्वागत गर्दछु। यस ऐतिहासिक महाधिवेशनको भव्य सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु।