search logo
NOTIFICATIONS

डीपी अर्याल संघीय प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध निर्वाचित

हाम्रो पेज

२२ चैत्र २०८२, आईतवार १२:२२

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद डीपी अर्याल संघीय प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको छ । आइतबारको प्रतिनिधि सभामा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयो । आइतवार प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पारित भएको हो । सो प्रश्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नुभएको थियो । उपसभापति अर्यालको मात्रै प्रश्ताव आएकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गर्नुभयो । उहाँले नवनिर्वाचित सभामुख अर्याललाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । नवनिर्वाचित सभामुख अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टी सभापति लामिछाने सहकारी ठगी अभियोगमा पक्राउ परेका बेला उपसभापति अर्यालले पार्टी हाँक्नुभएको थियो । त्यसैगरी उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हालि सक्नुभएको छ । दुई तिहाइ नजिक सिट जितेर रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा एकल बहुमतको सरकार बनाइसकेको छ । पूर्वश्रम मन्त्री रहेका अर्याल आफ्नै पार्टीको नेतृत्वमा बनेको शक्तिशाली सरकारका गृहमन्त्री बन्ने दौडमा हुनुहुन्थ्यो । प्रतिकुल अवस्थामा पनि पार्टीलाई जोगाएकाले सभापति रविले उहाँलाई गृहमन्त्री बनाएर कार्यकारी भूमिकामा राख्ने चाहनु भएको थियो । तर वरिष्ठ नेता बालेनले आफू निकट सुनिल लम्साललाई गृहमन्त्री बनाउन जोडबल गर्नुभयो ।अर्याल र लम्सालमध्ये एकलाई गृहमन्त्री बनाउन सहमति नजुटेपछि बालेनले सुदन गुरुङ अगाडि सारेसँगै अर्याल सभामुख बन्न सफल हुनु भएको हो । शालीन, राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका खेल्न सक्ने क्षमताका कारण उहाँलाई पार्टीले सभामुखमा अगाडि सारेको रास्वपाका नेताहरूले बताएका छन् । तर, सभामुख भएसँगै पार्टीको सक्रिय राजनीतिमा अर्यालको कम्तिमा पाँच वर्ष ब्रेक लाग्ने भएको छ । सभामुखमा निर्वाचित भएपछि दलीय आबद्धता नरहने संवैधानिक व्यवस्था छ ।