समानुपातिकमा इलाम–१ र गोरखा–१को अन्तिम मतगणना जारी, कसलाई कति सिट ?

हाम्रो पेज

२७ फाल्गुन २०८२, बुधबार ११:१४

काठमाडौं,२७ फाल्गुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको मतगणना अन्तिम अवस्थामा पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार इलाम–१ र गोरखा–१को मतगणना जारी छ । ती अन्तिम दुई निर्वाचन क्षेत्रका मतगणना सकिएपछि आयोगले आजै राजनीतिक दलहरूलाई क्लष्टर अनुसार प्राप्त सीट संख्याको जानकारी दिने उहाँले जानकारी दिनुभयो । कुन दलका कति उम्मेदवार निर्वाचित भए ? निर्वाचितमध्ये कुन कुन क्लष्टरमा कति कति जना छन् भन्ने विषय आयोगले दलहरूलाई पत्र लेखेरै जानकारी दिइने भट्टराईले बताउनुभयो । हालसम्म समानुपातिक तर्फ कुन दलका कति उम्मेदवार निर्वाचित भए भन्ने कुरा यकिन भएको छैन । तर, मध्याह्न १२ पछि ती संख्या यकिन गरिने उहाँले बताउनुभयो । मतगणनाको पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ ।
प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकतर्फ पाएको आयोगले जनाएको छ । यस्तै प्रत्यक्षतर्फ सात सिटसहित चौथौ भएको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको छ । पाँचौ भएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले तीन लाख ७४ हजार ३१४ मत ल्याएको छ । समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख ३२ हजार ९३२ मतहरू गणना भइसकेका छन् । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ । यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरू यसपल्ट निकै पछि परेका छन् । जनता समाजवादी पार्टी जसपा नेपालले एक लाख ७४ हजार ३१४ मत पाएको छ । त्यस्तै जनमत पार्टीले ७८ हजार ९५३ मत ल्याएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ । तराई–मधेश केन्द्रित विभिन्न दलहरूले गठबन्धन गरेर निर्वाचनमा प्रतिष्पर्धा गरेको एकल चिन्ह चकिया जाँतोले समानुपातिकतर्फ ६१ हजार ५३३, नेपाल कजदुर किसान पार्टीले ४२ हजार २३५ मत पाएका छन् । राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३१ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाको पक्षमा २९ हजार ४३६ मत खसेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले समानुपातिकतर्फ २३ हजार ८९१ मत ल्याएको छ । समानुपातिक मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५८, नेपाली कांग्रेसले १९, नेकपा एमालेले १७, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सिट पाउने संभावना देखिएकोछ ।