search logo
NOTIFICATIONS

यूएईमा इरानी ड्रोन र मिसाइल आक्रमणमा एक नेपालीको मृत्यु

हाम्रो पेज

१७ फाल्गुन २०८२, आईतवार १९:४३

एजेन्सी, १७ फाल्गुन । संयुक्त अरब इमिरेट्स यूएई मा इरानी ड्रोन र मिसाइल आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको यो आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्। यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले उल्लेख गरेअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन सामना गरिसकेका छन्। मन्त्रालयले आक्रमणको दोस्रो बिहान आइतबार २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको जनाएको छ। जसमा आठवटा समुद्रमा खसेको मन्त्रालयले जनाएको छ। त्यस्तै दुई क्रुज मिसाइल र ३११ ड्रोन नष्ट गरिएको दाबी मन्त्रालयले गरेको छ। २१ वटा ड्रोन भने नागरिक क्षेत्रमा गएर खसेका थिए । मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपण गरिएका १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ नष्ट गरिएका छन् । १३ समुद्रमा खसे। ५४१ ड्रोनमध्ये ५०६ अवरोध गरी नष्ट गरिएका छन् । ३५ देशको बस्ती क्षेत्रमा खसेका थिए, जसबाट भौतिक क्षति भएको छ। घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकको मृत्यु भएको समाचार गल्फ न्युजले प्रकाशित गरेको छ। मारिएका ती नागरिकहरूको नाम र अन्य विवरण खुलाइएको छैन। घाइते ५८ जनामध्ये यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक छन्। हवाई प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन अवरोध गर्दा खसेका भग्नावशेषका कारण विभिन्न स्थानमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको र नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ। साथै आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अपुष्ट हल्ला नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाल सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै ती देशहरूमा स्थगित गरेको हो । विभिन्न देशहरूमा जाने नेपाली कामदारहरूको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रीस्तरीय निर्णय अनुसार यस्तो व्यवस्था गरिएको हो । मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको हो । ती देशहरूमा वैदेशिक रोजगारीका लागि जाने कामदारहरूले अबदेखि अर्को निर्णय नभएसम्म व्यक्तिगत वा संस्थागत कुनै पनि प्रकारको श्रम स्वीकृति पाउने छैनन् ।