मोरङ क्षेत्र नं. ४ का एमाले उमेद्वार घिमिरेद्वारा प्रतिवद्धता पत्र सार्वजनिक

हाम्रो पेज

१ फाल्गुन २०८२, शुक्रबार १७:२२
विराटनगर, १ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट मोरङ क्षेत्र नं. ४ का प्रत्यक्ष तर्फका उम्मेदवार जीवन घिमिरेले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै घिमिरेले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । घिमिरेले निर्वाचनमा जनताले जिताएर पठाए आफुले प्रस्तुत गरेका प्रतिवद्धताहरु पुरा गरेरै छोड्ने दृढता पनि व्यक्त गर्नु भएको छ I

हेर्नुहोस घिमिरेले सार्वजनिक गर्नुभएका प्रतिबद्धताहरु:

१. संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख ऐन कानून निर्माणमा पहल गर्ने।

२. भ्रष्टाचार नियन्त्रणकालागि प्रभावकारी नीति निर्माण र कार्यान्वनमा जोड दिने ।

३. भाद्र २३ र २४ गतेका दिन ध्वस्त भएका संरचना पुननिर्माण गर्न पहल गर्ने।

४. कटहरी, ग्रामथान र बेलबारीका ग्रामीण क्षेत्रहरूलाई तरकारी पकेट क्षेत्र घोषणा गरी बजारको प्रबन्ध गरिने I

५. ग्रामथानको झोराहाटमा कोल्ड स्टोर स्थापनाको लागि पहल गर्ने।

६. मोरङ, सुनसरी र झापाकै गौरबको तमोर-चिसाङ डाइभर्सन परियोजना सञ्चालन गर्न पहल गर्ने।

७. तत्काल सिचाइँको लागि आवश्यकता अनुसार डीप बोरिङको प्रबन्ध गर्न पहल गर्ने।

८. किसानले विऊ बिजन, मलखाद समयमा नै नपाउने अवस्थाको अन्त्य गर्ने।

९. सिंघिया नदीको घिनाघाटदेखि जतुवा खण्डसम्मको भूभागलाई सौन्दर्यकरण गरी पर्यटन केन्द्रको रुपमा विकास गर्ने ।

१०. बेलबारीको धनपालथान तथा कटहरीको बालुघाट, ग्रामथानको बजरंगबलीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने I

११. विराटनगरमा आइटी हब बनाई युवा रोजगारी सृजनाको लागि पहल गर्ने ।

१२. रोजगार बैंकको अबधारणा कार्यान्वयनमा जोड दिइने ।

१३. श्रम बजारको आवश्यकता बुझी युवा पुस्ता लक्षित प्राविधिक सिपमुलक तालिम संचालन गर्ने।

१४. बेलबारी, ग्रामथान र कटहरी गाउँपालिकामा १०० बेडको अस्पताल स्थापना र सञ्चालन गर्न पहल गर्ने ।

१५. प्रदेश र संघीय सरकारसँग समन्वय गरी सस्तो र गुणस्तरीय सेवा प्रदान गर्न कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने I

१६. वैजनाथपुर रंगशालालाई स्तरउन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने ।

१७. ग्रामथानमा जेष्ठ नागरिक ग्राम निर्माण कार्यलाई अघि बढाउन पहल गर्ने ।

१८. जनता आवास कार्यक्रम मार्फत घरवारबिहिनहरूलाई बसोबासको प्रबन्ध गर्ने ।

१९. ग्रामथानमा धामीको नाममा थारु संग्रहालय तथा होमस्टे निर्माण गर्न पहल गर्ने ।

२०. अव्यस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासी समस्याको समाधानको लागि जग्गा धनीपुर्जा वितरण गर्न पहल गर्ने ।

२१. अधुरो रहेको विराटनगर रिङ्गरोडको निर्माण कार्य सम्पन्न गरि सञ्चालन गर्न पहल गर्ने ।

२२. नेताचोक, कसेनी हुँदै केरौनजाने नहरको बाटो कालोपत्रे गर्न पहल गर्ने ।

२३. नयाँ बजार, भौडाहा, थलाहा, मोतीपुर हुँदै बेलबारी जाने बाटो निर्माणकालागि पहल गर्ने ।

२४. सिंघिया, लोहन्द्रा र चिसांग खोलाको कटान क्षेत्रमा तटबन्धको प्रबन्ध गर्ने ।

२५. बाँतर, सतार, मुसहर, झागड, बातर, मुस्लिम, लगायत सिमान्तकृतहरूको भाषा, संस्कृतिको संरक्षण गर्न पहल गर्ने ।

२६. कटहरीमा रेलवे स्टेसन निर्माण गरी भारतको बथनाहादेखि कटहीसम्म रेलसेवा सञ्चालन गर्न पहल गर्ने ।

२७. बेलबारी वडा नं. ५ र ६ जोड्ने झोलुङ्गे पुल निर्माण गर्न पहल गर्ने ।

२८. विराटनगर, कटहरी, ग्रामथान र बेलबारीका डुवान हुने क्षेत्रहरूमा बाढी निकासको यथोचित प्रबन्ध गर्ने ।

२९. स्वास्थ बीमा वापत प्रदान गर्दै आएको सुबिधा कटौती गरि २५ हजार निर्धारण गरिएकोमा पून: एकलाख कायम गर्न पहल गर्ने ।

३०. सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाई श्रमिकहरुको हितको रक्षा गर्ने ।

३१. स्वदेशी उद्योगी तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्न लागनीमैत्री वातावरण तयार गरी वैदेशिक लगानी भित्र्याउन पहल गर्ने ।

३२. स्रष्टाहरूको सम्मानमा विशेष कार्यक्रमहरू सञ्चालनकालागि पहल गर्ने ।

३३. सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीतिगत व्यवस्था गर्ने I