चुनाव एकै चरणमा हुन्छः प्रधानमन्त्री कार्की

हाम्रो पेज

२२ माघ २०८२, बिहीबार १९:३३

काठमाडौं, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभएको छ । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गर्नुभयो । निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गर्नुभयो । ‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो , ‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनुहुनेछ । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।’ निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद समेत व्यक्त गर्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको छ । कर्णाली र सुदूरपश्चिम एकाध जिल्ला बाहेक प्रदेशको मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । समानुपातिकतर्फको दुई करोड चार लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो । उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । मतपत्र माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला, जिल्ला पठाउने गरी आयोगले तयारी गरिरहेको छ । निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरेको छ । विभिन्न किसिमका निर्वाचन सामग्री भने आयोगले नै खरिद गरेर जिल्ला, जिल्ला पठाउन लागेको हो । सडक पुगेको उच्च पहाडी र हिमाली जिल्लामा ट्रक र उच्च हिमाली जिल्लामा हेलिकप्टरका माध्यमबाट मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गरिने आयोगका सहायक प्रवक्ता जिसीले बताउनुभयो।