हाम्रो पेज
काठमाडौं, २९ पुष । नेपाली कांग्रसको विशेष महाधिवेशन बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले भर्खरै निर्वाचन तालिका सार्वजनिक गर्दै नेतृत्व चयनको प्रक्रिया सुरू गरेको हो । निर्वाचन कार्यक्रम अनुसार साढे १२ देखि मतदाता नामावली प्रकाशन राखिएको छ । मनोनयन दर्ता २ देखि ३ बजेसम्मलाई तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८ः४५ लाई निर्धारण गरिएको छ । त्यस्तै आजै राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताउनुभयो। विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी थालेका छन् । विशेष महाधिवेशन पक्षधरका प्रतिनिधिहरुले झूटो वार्ता नमान्ने भन्दै नाराबाजी गरेका हुन् । उनीहरूले शेरबहादुर देउवाको नेतृत्व फेरेर गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्वमा ल्याउन माग गरिरहेका छन् । उता नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग कुनै भागबन्डाको कुरा नगरेको प्रस्टीकरण दिएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरेर नेता सुवास पोखरेलले भागबन्डा राजनीति अन्त्य गर्न आफूहरूले खोजेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘वार्ता जाने साथीहरूलाई हामीले आफ्नो टाइमलाइन क्लियर गरेका छौँ। अहिले भ्रमपूर्ण प्रचार हुँदै छ, हामीले भागबन्डाको लागि होइन, विधिको सर्वोच्चताको लागि हो। उहाँहरूले लेनदेनको राजनीति गरिराख्नुहोला। गरिराख्नुस्, त्यसमा हाम्रो असहमति छ।’ वार्तामा जानेहरूलाई भागबन्डाको विषय राख्ने कुनै म्यान्डेट नदिएको स्पष्ट पारे। उहाँले सभापतिले सम्पूर्ण जिम्मेवारी छाड्नुपर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनमा देउवा लड्न नहुने, विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने बताउनुभयो ।
