हाम्रो पेज
विराटनगर,२१ मंसिर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा छिमेकीको संलग्नता देखिएको खुलेको छ । प्रहरीले स्थानीय करिब ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले अधिकारिक पुष्टि नगरेपनि उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको मोरङ प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनाको संवेदनशीलतालाई ध्यानमा राखेर प्रमाण संकलनपछि मात्रै निष्कर्ष सार्वजनिक गर्ने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशुको बलात्कारपछि हत्या भएको घटनालगत्तै पदम फरार थिए । उनी भारतको आसामस्थित तीनसुकिया पुगेका थिए । अनुसन्धानका क्रममा हत्यामा उनकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।अधिकारीले पनि आफूले बालिकालाई हँसियाले रेटेर र खुकुरी प्रहार गरी हत्या गरेको बताएका प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति घर फर्केका उनलाई प्रहरीले राति पक्राउ गरेको हो । अंशुका बुबा नवीन गौतमले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । असोज २१ गते हत्या भएकी अंशुको शव १८ दिनपछि चिसाङ खोलानजिकैको जंगलमा फेला परेको थियो । असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अधिकारीलाई नियन्त्रणमा लिएको हो । पारिवारिक रिसिइबी नै हत्याको मुख्य कारण देखिएको प्रहरी स्रोतले जनाएको छ । तर बलात्कारपछि उनको हत्या भएको उनले स्वीकार गरेका हुन् । प्रहरीले अनुसन्धानका क्रममा अंशुको परिवार, छिमेकी, विद्यालयका शिक्षक, सहपाठी लगायत दर्जनौं व्यक्तिसँग सोधपुछ गरेको थियो । घटनास्थल वरपरका बासिन्दाको बयान, प्राविधिक विश्लेषण र शंकास्पद व्यक्तिहरूको गतिविधिको अध्ययन गर्दै अन्ततः मुख्य अभियुक्तसम्म पुग्न प्रहरी सफल भएको छ ।