
विराटनगर, १२ कार्तिक । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान सो हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिनुभयो । हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको र पाइलट विवेक खड्का पनि सकुशल रहनु भएको छ । लुक्ला विमानस्थलका अनुसार बिहान ८ः१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७ः४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो । अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्कालाई खासै केही नभएको बताउनुभएको छ । क्याप्टेन खड्कालाई लिन लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर गएको छ ।