हाम्रो पेज
काठमाडौं, २६ भाद्र । देशमा जेनजी आन्दोलनका कारण उत्पन्न विषम परिस्थिति र बढ्दो राजनीतिक अन्योलबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा एक विज्ञप्ति जारी गर्दै नागरिकलाई धैर्य धारण गर्न र संयमता अपनाउन अलिल गर्नुभएको छ। उहाँले आन्दोलनकारी नागरिकका माग सम्बोधन गर्न तथा देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिनका लागि आफू निरन्तर विचार विमर्श र हर प्रयासमा रहेको विश्वस्त पार्नुभएको छ । राष्ट्रपति पौडेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु। उहाँले थप स्पष्ट पार्दै भन्नु भएको छ, ूआन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपील गर्दछु। राष्ट्रपति पौडेलको यो विज्ञप्ति नेपाली सेनाको मुख्यालयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र सेनाप्रमुख अशोकराज सिग्देलसँगको उच्चस्तरीय वार्ताको तयारी भइरहेका बेला आएको हो। जेनजी आन्दोलनका कारण उत्पन्न राष्ट्रिय संकट र राजनीतिक शून्यताबीच देशको भावी मार्गचित्र तय गर्न उच्चस्तरीय छलफलको तयारी सुरु भएको छ। नेपाली सेनाको मुख्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलबीच वार्ताको तयारी भइरहेको छ। राष्ट्रपति पौडेलको सार्वजनिक उपस्थिति माग भइरहेका बेला यस बैठकलाई विशेष चासोका साथ हेरिएको छ। अहिले पूर्वप्रधानन्यायाधीश कार्की र सेनाप्रमुख अशोकराज सिग्देल सेना मुख्यालयमा छलफलमा रहनु भएको छ । उच्च स्रोतका अनुसार राष्ट्रपति, पूर्वप्रधानन्यायाधीश र सेनाप्रमुखबीचको यो वार्ताले देशको आगामी बाटो कस्तो हुने भन्ने तय गर्नेछ।
