
विराटनगर १३ भाद्र । तत्कालीन प्रदेश १ को नाम कोशी राखिएको अढाई वर्षपछि नेकपा माओवादी केन्द्र अन्ततः यो नाम स्वीकार गर्न तयार देखिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरक मतसहित कोशी नामलाई मानेर अगाडि बढ्न निर्देशन दिनु भएको छ । २०७९ फागुन १७ गते प्रदेशसभाबाट ुकोशी नामकरण गर्दा माओवादी केन्द्रले पनि समर्थन गरेको थियो। तर, पहिचान पक्षधरहरूले गरेको तीव्र विरोधपछि माओवादीले आफ्नो निर्णयमा त्रुटि भएको स्वीकार गर्दै पहिचानकै पक्षमा उभिएको थियो। पार्टीको बिहीबार बसेको कोशी प्रदेश सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अब कोशी नामलाई मानेर जानुपर्ने आवश्यकता औँल्याउनुभएको हो । उहाँले प्रदेशको नाम स्वीकार गर्नुअघि माओवादीले प्रदेशसभामा छुट्टै नाम प्रस्ताव गर्ने र त्यसपछि केन्द्रीय समितिले निर्णय गरेर कोशी नामलाई स्वीकार गर्ने तयारी रहेको बताउनुभयो । सोही क्रममा प्रचण्डले सम्बोधन गर्दै विगतमा नामकरण प्रक्रियामा त्रुटि भएको स्वीकार गर्नुभयो प्रदेशका नेताहरूले नामको विषयमा प्रश्न उठाएपछि उहाँले स्पष्ट पार्दै भन्नुभयो यो नाममा हाम्रो सहमति छैन। अब बहुमत भएको हुनाले बहुमतको कुरालाई त हामीले यही संविधानअन्तर्गत कानुन आउने हुनाले मान्न बाध्य छौं। उहाँले संविधान घोषणा गर्दा पनि माओवादीले आफ्नो फरक मत राखेको स्मरण गर्दै प्रदेशको नाममा त्यो अवसर गुमाएकोमा दुःख व्यक्त गर्नुभयो ।