विराटनगरमा प्रहरी चेकिङको क्रममा दुखद दुर्घटनाःसामाजिक अभियन्ताको मृत्यु

हाम्रो पेज

५ भाद्र २०८२, बिहीबार ११:५७

विराटनगर ५ भाद्र । विराटनगरमा प्रहरीले सवारी जाँच गर्ने क्रममा भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा परी एक सामाजिक अभियन्ताको ज्यान गएको छ। बुधबार राति भएको यस घटनामा सुनसरीको बर्जु गाउँपालिका–६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, घटना गएराति करिब ८ः२० बजे विराटनगर महानगरपालिका–४ स्थित दूधफारम चोकमा भएको हो। प्रहरी टोलीले ट्राफिकसहित सवारी जाँच गर्ने क्रममा विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई रोकेको थियो। सोही दिशाबाट तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकलले उक्त रोकिराखेको ट्रकको पछाडिबाट ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, प्रहरीले ट्रकलाई जाँचका लागि एक्कासी रोकेपछि तीव्र गतिमा रहेको मोटरसाइकलले नियन्त्रण गुमाएर ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो। सक्रिय सामाजिक अभियन्ताको रूपमा परिचित चौधरीको निधनले स्थानीय स्तरमा शोक छाएको छ। दुर्घटनामा संलग्न मिनी ट्रकका चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।