search logo
NOTIFICATIONS

सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा ३ जनाको मृत्यु, १७ घाइते

हाम्रो पेज

२६ श्रावण २०८२, सोमबार ११:४४

सुनसरी २६ श्रावण । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३, जलुवाटोलस्थित पूर्व पश्चिम राजमार्गमा आज  सोमबार बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको निधन भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार, काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस (विङ्गर) बिहान करिब ७ः१५ बजे एकआपसमा ठोक्किएका हुन्।दुर्घटनामा परी दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा उपचाररत दुई पुरुष र इनरुवास्थित जिल्ला अस्पतालमा उपचाररत एक महिलाको निधन भएको हो। मृतक तीनै जनाको पहिचान हालसम्म खुल्न सकेको छैन।दुर्घटनामा घाइते भएका १७ जनाको इनरुवा, तथा विराटनगरस्थित न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाका अनुसार, घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १२ जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ। प्रहरीले बस चालक झापा, अर्जुनधारा नगरपालिका १ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ। माइक्रोबसका चालक घाइते भएकाले उनको अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।