
एजेन्सी, २० श्रावण । भारतको उत्तराखण्डस्थित उत्तरकाशीको धराली गाउँमा मंगलबार बादल फाटेपछि आएको भीषण बाढी र पहिरोले प्रलय मच्चाएको छ। उक्त विनाशकारी घटनामा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। बाढीले दर्जनौं घर तथा भौतिक संरचनाहरू बगाएको छ, जसले गर्दा पूरै क्षेत्र शोकमा डुबेको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेका हृदयविदारक भिडियोहरूले विनाशको भयावह तस्बिर देखाएका छन्। भिडियोमा मानिसहरू चिच्याउँदै र सिट्ठी बजाउँदै एकअर्कालाई सुरक्षित स्थानतर्फ भाग्न आग्रह गरिरहेको दर्दनाक दृश्य देखिन्छ। भेल र लेदोले घरहरू बगाउँदै लगेको पृष्ठभूमिमा मानिसहरूको चित्कारले घटनाको त्रासदीलाई झनै प्रस्ट्याएको छ। घटनालगत्तै उद्धारका लागि युद्धस्तरमा प्रयास थालिएको छ। संघीय गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग कुराकानी गरी केन्द्र सरकारबाट पूर्ण सहयोगको आश्वासन दिनुभएको छ। घटनास्थलमा राष्ट्रिय विपद् प्रतिकार्य बल भारत तिब्बत सीमा प्रहरी र राज्य विपद् प्रतिकार्य बलको टोली खटिएर उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको छ। उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्यले चार जनाको मृत्यु भएको पुष्टि गर्दै ५० जना बेपत्ता रहेको र भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको जानकारी दिनुभएको छ। स्थानीयका अनुसार, खीर गंगा नदी आसपासको क्षेत्रमा मुसलधारे वर्षासँगै बादल फाटेपछि यो विपत्ति आइलागेको हो। उद्धार टोलीले बेपत्ताहरूको खोजी र फसेकाहरूको उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।