search logo
NOTIFICATIONS

‘गुण्डा नाइके’ चक्रे मिलन सहित ४७ जना काठमाडौंबाट पक्राउ, जन्मदिनको पार्टीबाटै नियन्त्रणमा

हाम्रो पेज

१६ श्रावण २०८२, शुक्रबार ११:०३

काठमाडौँ, १५ श्रावण । प्रहरीले ‘गुण्डा नाइके’को रूपमा चिनिएका मिलन गुरुङ (चक्रे मिलन) सहित ४७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनीहरूलाई बिहीबार राति ठमेल र महाराजगन्ज क्षेत्रबाट नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक एसपी काजीप्रसाद आचार्यका अनुसार, चक्रे मिलनलाई महाराजगन्जस्थित साम्बाला होटलमा चलिरहेको उनको जन्मदिनको पार्टीबाटै पक्राउ गरिएको हो। काठमाडौंका एसएसपी विश्व अधिकारीको नेतृत्वमा बिहीबार रातभरि चलेको विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरिएको थियो। यसअघि बुधबार प्रहरीले ठमेलको एक दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न रहेको आरोपमा युवराज गुरुङ सानुभाइलाई पनि पक्राउ गरिसकेको छ।
पक्राउ परेका सबैलाई हाल काठमाडौं प्रहरी परिसरमा राखिएको छ। एसपी आचार्यले भन्नुभयो, “पक्राउ परेकाहरूको पहिचान रुजु गर्ने काम भइरहेको छ। यस क्रममा केही सर्वसाधारण पनि परेको हुनसक्ने भएकाले छानबिनपछि निर्दोष व्यक्तिहरूलाई आजै छाडिनेछ र दोषीहरूमाथि कानुन बमोजिम कारबाही अगाडि बढाइनेछ।” प्रहरीका अनुसार, चक्रे मिलन र उनको समूहले सामाजिक सञ्जालमार्फत सर्वसाधारणमा त्रास फैलाउने किसिमका सामग्रीहरू पोस्ट गरेपछि उनीहरूमाथि निगरानी बढाइएको थियो। यस विषयमा प्रहरीको उपत्यका अपराध कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले विशेष चासो देखाउँदै गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार, अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनदेखि पछ्याइरहेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी रमेश बस्नेतका अनुसार, केही दिनअघि भक्तपुरमा तीनवटा गाडीले सार्वजनिक सडक अवरुद्ध गरेको भिडियो प्रहरीले फेला पारेको थियो। उक्त गाडी चक्रे मिलनको समूहको भएको पुष्टि भएपछि उनीहरू पुरानै गतिविधिमा सक्रिय रहेको निष्कर्ष निकाल्दै प्रहरीले अपरेसनको तयारी गरेको थियो। “सार्वजनिक सडकलाई आफ्नो जसरी छेकेर हिँड्नु पनि गुण्डागर्दी नै हो भन्ने हाम्रो निष्कर्ष रह्यो,” एसएसपी बस्नेतले भन्नुभयो। बिहीबार राति करिब १ बजे, आफ्नो जन्मदिनको हप्ताव्यापी कार्यक्रम अन्तर्गत चक्रे मिलन आफ्नो समूहसहित साम्बाला होटलको आठौं तलामा रहेको बेला प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरूको साथबाट दुई थान खुकुरी, एउटा फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेको छ। पक्राउ परेकामध्येका एक राहुल खड्काले उक्त हतियार आत्मरक्षाका लागि बोकेको प्रारम्भिक बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।